जनमोर्चाका थापाको संसद पद खारेज

पोखरा । राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई सांसद पदबाट पदमुक्त गरेको जानकारी प्रदेशसभा सचिवालयमा दिएको छ ।

बिहीबार दिउँसो १२ बजे जनमोर्चाका महासचिव मनोज भट्ट र गण्डकी प्रदेश संसदीय दलकी नेता पियारी थापाले प्रदेशसभा सचिवालयमा थापालाई निष्कासन गरेको जानकारी गराएका हुन् ।

सांसद पदबाट हटाइएको पत्र सचिवालयमा दर्ता भएको र सांसद थापालाई पनि जानकारी गराइएको प्रदेशसभाका सचिव हरिराज पोखरेलले जानकारी दिए । राजमोको बिहीबार बसेको केन्द्रीय बैठकले थापालाई सांसद पदबाट निष्कासन गरेको हो ।

बिहीबार १ बजे बस्ने प्रदेशसभाको बैठकमा थापा सांसदबाट पदमुक्त भएको सूचना पढाएर सुनाइनेछ । यसअघि थापालाई पार्टीले कारबाही गर्दै आजीवन केन्द्रीय सदस्य हुन नपाउने र एक वर्षका लागि पार्टी सदस्यबाट निलम्बन गर्दै दलको नेताबाट पनि हटाएको थियो ।

सरकारविरुद्ध ल्याएको अविश्वासको प्रस्तावमाथि दलले समर्थन गरिरहँदा थापाले पार्टीको निर्देशन उल्लंघन गर्दै एमालेलाई सहयोग गर्दै आएका थिए । थापा बाग्लुङ–१ को ‘क’ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । थापा पदमुक्त भएसँगै गण्डकी प्रदेशसभामा विपक्षी दलको सरकार बन्ने बाटो खुलेको छ ।

बिहिबार, २० जेठ, २०७८, दिउँसोको ०१:३० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर