इटहरीमा निजी क्षेत्रद्वारा ८० शैयाको आइसोलेसन सञ्चालनमा

सुनसरी । इटहरीमा निजी क्षेत्रको अगुवाइमा अक्सिजनसहितको ८० शैयाको आइसोलेसन आजबाट संचालनमा आएको छ । सीमित व्यक्तिहरु सहभागी भएर सामान्य कार्यक्रम गरी आइसोलेसन आजदेखि सञ्चालनमा आएको घोषणा गरिएको हो ।

इटहरी–१० स्थित पिपुल्स मल्टिपल हेल्थ इन्सिच्युटको भवनमा उद्योग वाणिज्य संघ इटहरीको अगुवाइमा अक्सिजनसहितको आइसोलेसन एक साता अघि नै तयार गरिए पनि आजदेखि सञ्चालनमा आएको हो । नेपाल प्रेस युनियन सुनसरी, युवा उद्यमी मञ्च इटहरी, श्रीकृष्ण प्रणामी मन्दिर र मारवाडी सेवा समिति इहरीले आइसोलसन सञ्चालनमा साथ दिएका छन् । इटहरी उपमहानगरपालिकाका नगरप्रमुख द्वारिकलाल चौधरीले शुभकामना मन्तब्य दिँदै आइसोलेसन सञ्चालनमा आएको घोषणा गरे ।

तीन तले भवनमा सञ्चालित आइसोलेसनमा डाक्टर र नर्स सहितको सुविधा रहेको छ । पछिल्लो समय सुनसरीसहित आसपासका क्षेत्रमा कोरोना भाइरस संक्रमण तीब्र भएपछि स्थिति नियन्त्रणभन्दा बाहिर जान नदिन सहयोग पुगोस् भन्ने उद्देश्यले आइसोलेसन तयार गरिएको मारवाडी सेवा समिति इटहरीका अध्यक्ष मुकेश अग्रवालले बताए ।

आइसोलेसनमा संक्रमितलाई खाना र बस्न निःशुल्क रहेको छ । यसका साथै विभिन्न खेलकुदका सामाग्री, पुस्तक, उच्च गतिको इन्टरनेट र टेलिभजन हेर्ने सुविधा समेत रहेको प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले जानकारी दिए ।

आइसोलेसनमा निःशुल्क एम्बुलेन्स सेवाका साथै नोबेल अस्पतालसँगको सहकार्यमा ७ सय ५० रुपैयामा पिसिआर जाँच गर्ने सुविधा पनि रहेको छ । इटहरी उपमहानगरपालिकाले पनि इटहरी रंगशालामा ५० शैयाको आइसोलेसन तयार गरेको छ । गत वर्ष एक सय शैया क्षमता संचालित यो आइसोलेसन यस वर्ष ५० शैयामा सीमित गरिएको छ ।

यस्तो बेला निजी क्षेत्रबाट संचालित आइसोलेसनले राहत दिने विश्वास गरिएको उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भीम पौडेलले बताए । महामारीमा सरकारी क्षेत्रको मात्र मुख ताक्ने प्रवृती रहेकोमा निजी तथा सामाजिक क्षेत्रबाट भएको यस्तो कार्यको अन्य सहरमा पनि अनुसरण गर्न प्रेरणा मिल्ने पौडेलको भनाइ छ ।

मङ्गलबार, ११ जेठ, २०७८, साँझको ०५:४७ बजे

प्रतिक्रिया

प्रतिक्रिया:

सम्बन्धित खवर