प्रदेश १ : घटेन मृत्युको ग्राफ, १५ दिनमै २२५ को मृत्यु

विराटनगर । प्रदेश १ मा १५ दिनयता मात्रै २२५ जनाले कोरोना संक्रमणको कारण ज्यान गुमाएका छन् ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयको तथ्यांक अनुसार गत वैशाख २७ गतेयता मात्रै ६१ महिला र १६४ पुरुषको मृत्यु भएको हो ।

गत वैशाख २७ गतेसम्मको तथ्यांक अनुसार मृतकको संख्या ५५९ थियो । यो तथ्यांक गत वर्षदेखि कोरोना संक्रमणको कारण मृत्यु हुनेहरुको हो । तर, १५ दिनमै यो तथ्यांक बढेर ७८४ पुगेको छ । मन्त्रालयले जेठ १० गते सार्वजनिक गरेको तथ्यांक अनुसार हालसम्म प्रदेश १ मा २२६ महिला र ५५८ पुरुष गरी ७८४ जनाको मृत्यु भएको छ ।

कोरोना संक्रमित र मृतकको संख्या घट्ने अनुमान गरिरहेको बेला पछिल्लो १५ दिनको तथ्यांकले आशावादी हुने संकेत गरेको छैन । गत वैशाख २७ गते २४ घण्टामा ११ जनाले ज्यान गुमाउँदा जेठ १० गतेको २४ घण्टाको तथ्यांक अनुसार त्यसभन्दा दोब्बर बढी अर्थात् २४ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन् ।

तथ्यांकले औसतमा प्रदेश १ मा मात्रै दैनिक १५ जना मानिसको मृत्यु भइरहेको छ । तथ्यांक अनुसार वैशाख २८ गते १४, २९ गते १७, ३० गते १५, ३१ गते १२ जनाको मृत्यु भएको थियो । यस्तै जेठ १ गते ६, २ गते १६, ३ गते १६, ४ गते १८, ५ गते २१, ६ गते २३, ७ गते ७, ८ गते ११, ९ गते १४ जनाको मृत्यु भएको छ । भने १० गते आइपुग्दा बढेर २४ जनाको मृत्यु भएको छ ।

प्रदेश १ मा हालसम्म ५२ हजार २ सय ६८ जना संक्रमित भएका छन् । अहिले पनि आइसोलेसनमा १८ हजार ९ सय ४१ जना रहेका छन् । यस्तै हालसम्म ३२ हजार ५ सय ४३ जना डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । प्रदेश १ मा हालसम्म २ लाख ८३ हजार ८ सय ७ जनाको कोरोना परीक्षण गरिएको छ ।

मङ्गलबार, ११ जेठ, २०७८, दिउँसोको ०१:०८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर