विराटनगर । नेकपा माओवादी केन्द्र निकट युवा संगठन योङ कम्युनिष्ट लिग (वाइसिएल) मोरङले विराटनगरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ ।
वाइसिएल मोरङका अध्यक्ष मो.सेख आजमको नेतृत्वमा उनीहरुले विराटनगरस्थित घागापुल चोकमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक ढंगले संसद विघटन गर्न सिफारिस गर्ने र राष्ट्रपतिले सदर गरेको भन्दै विरोध स्वस्प पुत्ला जलाइको आजमले बताए । कोरोना महामारीको बेलामा सरकार यसलाई नियन्त्रण गर्नतिर भन्दा असंवैधानिक ढंगले निर्वाचन गराउन तिर लागेको भन्दै विरोध गरेको उनीहरुको भनाइ छ ।
पुत्लामा आगो लगाएपछि प्रहरीले हस्तक्षेप गरेको थियो । प्रधानमन्त्रीले गत शुक्रबार राती गरेको संसद विघटन र मध्यावधि निर्वाचन घोषणाको विषमा देशव्यापी विरोध सुरु भएको छ । केन्द्रमा पनि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले (माधव–खनाल) पक्ष, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले संयुक्त रुपमा उक्त कदमको विरोध गर्दै आएका छन् ।