औषधी र स्वास्थ्य सामाग्रीमा कालोबजारी बढ्यो

विराटनगर । सर्वसाधारण कोरोना महामारीको चपेटामा परिरहेका बेला विराटनगरमा स्वास्थ्य सामाग्री र औषधीमा कालोबजारी हुने क्रम रोकिन सकेको छैन ।

स्थानीय प्रशानसले संक्रमण रोकथाम र नियन्त्रण गर्न निषेधज्ञाको समयमा नियमकारी निकायको ध्यान पुग्न नसक्ने भन्दै कालोबजरी गर्न पल्किएका यहाँका फार्मेसी संचालकहरूले एक पछि अर्को गर्दै स्वास्थ्य सामाग्री र औषधीमा कालोबजारी गर्दै आएको घटना खुलेको हो ।

विराटनगर महानगरपालिका–७ कोशी अस्पताल अगाडि फार्मेसीको नाम परिवतन गरि सुनसरी दुहबी नगरपालिका ७ का ३७ वर्षिय श्याम चौधरीले स्वास्थ्य सामाग्रीमा कालोबजारी गर्ने गरेको पाइएको हो । उनले चौधरी फार्मेसीलाई ‘अधिकारी फार्मेसी’ नामक फार्मेसी संचालन गरेर स्वास्थ्य सामाग्रीमा कालोबजारी गरेको आरोपमा मोरङ प्रहरीले शनिबार पक्राउ गरेको छ ।

पक्राउ परेका चौधरीले ६ हजार ८ सय ८० रुपैयाँ पर्ने सिलकोन फूल फेस माक्स र एनआइभी माक्स (क्ष्ष्अियलभ ँगिि ँबअभ ःबकप( ल्क्ष्ख् ःब्क्प् ) उपभोक्तालाई ८ हजार ५ सय रुपैयाँमा बिक्री गर्दा पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए ।

सिलकोन फुल फेस माक्स र एनआइभी माक्स अक्सिजन दिने बिरामीले प्रयोग गर्दछन् । पक्राउ परेका चौधरीले विराटनगर ९ का ३१ वर्षिय भुपेन्द्र नाथ अधिकारीलाई एनआइभी माक्स १ हजार ६ सय २० रुपैयाँ बढी मूल्य लिएर बिक्री गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका चौधरीलाई मोरङ प्रहरीले कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ कसूर अन्तर्गत कारबाही प्रक्रिया अगाडि बढाइएको डिएसपी राईले जानकारी दिए ।

यसअघि बिहीबार औषधी खरिदमा विरामी ठगी गरेको आरोपमा प्रहरीले विराट नर्सिङ्ग होम अगाडिको पश्चिमबासी फार्मेसीका संचालक रविन्द्र महतोलाई पक्राउ ग¥यो । फार्मेसी संचालक महतोले विरामीसँग औषधीमा बढी मूल्य लिएर विक्री बितरण गरेको आरोपमा पक्राउ गरेका थिए ।

पक्राउ परेका महतोले विराट नर्सिङ्ग होममा भर्ना भएका विरामीलाई महँगो मूल्यमा औषधी विक्री वितरण गरेको आरोप छ । औषधिको कालोबजारी गरेको पाइएपछि प्रहरीले फार्मेसी सञ्चालकलाई पक्राउ गरि अहिले अनुसन्धान भइरहेको डिएसपी राईले बताए । विराट नर्सिङ्ग होममा भर्ना भएका विरामीले पश्चीमबासी फार्मेसीबाट एक सय रुपैयाँको औषधी खरिद गरेर लग्यो भने बिलमा १ सय ५० रुपैयाँको बनाउने गरेको प्रहरीले जनाएको छ । फार्मेसी सञ्चालक महतोले विरामीसँग १७ हजार ८ सय ८९ रुपैयाँ बढी लिएको अनुसन्धानदेखि खुलेको छ । पक्राउ परेका उनीविरुद्ध कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ बमोजिम कारबाही अघि बढाउन शुक्रबार म्याद थप गरेर बाँकी अनुसन्धान अघि बढाइएको राईको भनाइ छ ।

‘कोरोना महामारीको चपेटामा सर्वसाधारण छन् । तर फार्मेसीले भने बजार मूल्यभन्दा महँगोमा औषधि बेच्दै कालोबजारी गरिरहेको पाइयो,’ डिएसपी राईले भने, ‘धेरैतिरबाट गुनासो आएको आधारमा अनुसन्धान थाल्दा औषधिमा भइरहेको कालोबजारीको नयाँ तथ्य फेला प¥यो । बदमासी गरिरहेको सूचनाका आधारमा अरू फार्मेसीमाथि पनि निगरानी बढाइएको छ ।’

मोरङ र सुनसरीका ७ फार्मेसी कारबाहीमा

वाणिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले मोरङ र सुनसरीको ७ वटा औषधी पसललाई कारबाही गरेको छ । निषेधाज्ञाको समयमा स्वास्थ्य सामाग्रीमा कालोबजारी गर्ने र खरिद र बिक्री बिल बिजक नदेखाउने औषधी पसलमा अनुगमन गरि वाणिज्यले कार्यालयले उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार कारवही गरेको हो ।

गत आइतबार अनुगमनको क्रममा मोरङको बुढीगंगा गाउँपालिकामा २ टंकिसिनवारीमा रहेको विज्ञान फार्मेसीले सेनिटाइजरको कालोबजारी गरेको भेटिएको थियो । उक्त फार्मेसीले १ सय ६ प्रतिशितसम्म मुनाफा राखि सेनिटाइजर बिक्री वितरण गर्दै आएको थिए । १२० एमएलको स्यानिटाइजर ८० रुपैयाँमा खरिद गरी विज्ञान फार्मेसीले १ सय ६५ रुपैयाँ बिक्री वितरण गर्दै आएको अनुगमनको क्रममा भेटियो । गत मंगलबार सुनसरीको इटहरीमा रहेको थोक बिक्रेता विविता सर्जिकल हाउसले पनि सेनिटाइजरमा कालोबजारी गरिएको भेटियो । भारतीय कम्पनीले उत्पादन गरेको ‘लाइफ ग्रुथ’ ब्राण्डकोे ह्यान्ड स्यानिटाइजर १ सय ३ प्रतिशत भन्दा बढी मुनाफा राखि बिक्री गरेको अनुगमनको क्रममा फेला परेको थियो । ३९.३० मा खरिद गरेको सेनिटाइजर ८० रुपैयाँमा बिक्री गरेको भेटिएपछि वाणिज्य कार्यालयले २ लाख जरिवना गरेको थियो ।

कडा लक्षणसहितको गम्भीर प्रकृतिका कोरोना संक्रमित बढेर अस्पतालको शैय्या भरिएर विरामीले उपचार नपाएर मृत्युवरण गरिरहेको समयमा पनि व्यापारी र बिचौलियाहरूले मानवीय सम्वेदनसिलता भुलेर स्वास्थ्य सामाग्रीमा कालोबजारी सुरु गरेका छन् । विराटनगर, सुनसरीको धरान, इटहरीलगायतको क्षेत्रमा स्वास्थ्य सामाग्रीको अधिक मात्रामा कालोबजारी हुने गरेको छ ।

स्वास्थ्य समाग्रीमा कालोबजारी हुने गरेको जनगुनासो बढेपछि वाणिज्यले मोरङ र सुनसरीको ९ वटा फार्मेसीमा अनुगमनको गरेको थियो । पछिल्लो तीन दिन यता गरेको अनुगमनको क्रममा ७ वटा फार्मेसीले स्वास्थ्य सामाग्रीमा अस्वभाविक मूल्य कायम गरि अत्याधिक मुनाफा राखि कालोबजारी गरेको भेटिएपछि कारबाही गरिएको वाणिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका निमित्त कार्याल प्रमुख सन्तोष पोखरेलले जानकारी दिए ।

निषेधाज्ञाको समयमा अस्वाभिक मूल्य कायम गरि अत्याधिक मुनाफा राखेर स्वास्थ्य सामाग्री बिक्री बितरण हुने गरेको जनगुनासो आउन थालेपछि अनुगमन बढाएको उनले बताए ।

आइतबार, ०९ जेठ, २०७८, साँझको ०६:१६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर