विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिका ३ लोचनीका २३ वर्षिय पुजन राईले सामान्य विषयमा बिवाद हुँदा छिमेकी दाईको हत्या गरेको खुलेको छ ।
करिब चार महिना अगाडी छिमेकी दाईले ‘साइको’ भनेको विषयलाई लिएर पुजनले ४० वर्षीय विष्णु ऋषिदेवलाई धारिलो हतियार प्रयोग गरि हत्या गरेको मोरङ प्रहरीको प्रराम्भिक चरणको अनुसन्धानबाट खुलेको हो ।
हत्या आरोपमा पक्राउ परेका राई र मृतक ऋषिदेव छिमेकी हुन् । पूजनले विष्णुलाई दाइ भनेर सम्बोधन गर्ने गरेको स्थानीय बताउँछन् । उनीहरूको एक सय मिटर दुरीको घर रहेको छ । गत बिहीबार राती धारिलो हतियार दाउ (बम्फर) ले ऋषिदेव सुतेको अवस्थमा घाँटीमा प्रहार गरि हत्या गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए । हत्या आरोपमा पक्राउ परेका राई मानसिक समस्या भएका युवा हुन् । केही दिनयतादेखि औषधी पनि सेवन गर्दै आएको परिवारले बताएका छन् । उनलाई विष्णुले करिब चार महिना अगाडि ‘साइको’ भनिदिएको कारणले त्यही रिस फेर्न हत्या गरेको बयानको क्रममा बताएको प्रहरीले जनाएको छ ।
निन्द्रामा भएका विष्णुको यसरी भयो हत्या
विष्णु ऋषिदेव मजदुरी गर्दछन् । उनको श्रीमतिको मृत्यु भइसकेको छ । त्यही भएर लामो समयदेखि दुई छोराहरू मामा घरमा बस्दै आएका छन् । विष्णु बिहीबार दिउँसो १ बजे घरछेउँमा रहेको छिमेकीको होटलमा गएर मदिरा सेवन गर्दछन् । त्यसपछि साँझ भाइको घरमा खाना खाएर ८ बजे घरमा आएर सुत्छन् ।
विष्णु सुतेपछि पढ्दै गरेको पुजन उठ्छन् । रातको ११ बजेको समयमा । पूजनको घरमा सबै जना सुतेपछि भान्सामा रहेको बम्फर झिक्छन् र विष्णुको घरमा पुग्छन् । मस्त निन्द्रामा भएका विष्णु पश्चिम फर्केर कोल्टे भएर सुतेका हुन्छन् । त्यही बेला विष्णुको घाँटीमा सुजनले तीन पटक दाउले हानेर हत्या गरेको बयानको क्रममा प्रहरीलाई स्वीकार गरेका छन् ।
हत्या गरेपछि दाउ धुएर सुते पूजन
विष्णुको हत्या गरेपछि दाउँमा र पुजनको पेन्टमा रगत लागेको थियो । हत्या गरेपछि उनी सिधै घरमा पुग्छन्, त्यसबेला रातीको १२ बजेको हुन्छ । घरपछाडि रगत लागेको दाउ र पेन्ट पखालेर दाउ भान्सा कोठामा राख्छन् र साढे १२ बजेपछि उनी सुत्छन् ।
सबेरै उठ्ने विष्णु शुक्रबार विहान नउठेपछि स्थानीय उनकोे घरमा पुगेका थिए । खाटभरी रगताम्य देखेपछि स्थानीयले प्रहरीलाई खबर गर्दछन् । तत्काल इलाका प्रहरी कार्यालय बेलबारीको टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गर्दछन् । घटनको अनुसन्धान गर्दै जाँदा विष्णुको हत्यामा सुजनको संलग्नता देखेपछि इप्रका बेलबारीले शुक्रबार ८ बजे घरदेखि उनलाई पक्राउ गरेको हो । पक्राउ परेका सुजनलाई इप्रका बेलबारीले ‘कर्तब्य ज्यान’ मुद्दामा म्याद थप गरि अनुसन्धान गर्दै आएको डिएसपी राईले जानकारी दिए ।

