काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ हजार नाघेको छ । पछिल्लो तथ्यांक अनुसार आज मृत्यु भएका १७७ सहित मृतकको संख्या ६ हजार २४ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसै कोरोना संक्रमणका कारण गम्भीर समस्या भएका १,७१६ जनालाई आईसीयूमा र ५११ जनालाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।
आज मात्रै नेपालमा थप ८,६०७ जनामा कोरोनाभाइरस सङ्क्रमण देखिएको थियो । मन्त्रालयका अनुसार विगत २४ घण्टाको अवधिमा ७,८९० जना सङ्क्रमणमुक्त भएका छन्।
अहिले देशभरि १,१६,१९२ जनामा सक्रिय सङ्क्रमण छ। देशभरि भएका सक्रिय सङ्क्रमितमध्ये ७,६९७ जना संस्थागत आइसोलेशनमा र बाँकी जना घरमै बसिरहेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार अहिले काठमाडौंमा २२ हजार १९३, ललितपुरमा ६ हजार ८५६ र भक्तपुरमा ४ हजार ८६४ जना सक्रिय संक्रमित छन् ।
नेपालमा अहिलेसम्म ४,९७,०५२ जनामा कोभिड पुष्टि भएकोमा ३,७५,८३६ जना निको भएको तथ्याङ्क मन्त्रालयले प्रकाशित गरेको छ।