विराटनगर । प्रदेश १ मा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्यामा कमी आएको छ । आज सार्वजनिक तथ्यांक अनुसार प्रदेश १ मा २ महिला र ५ पुरुष गरी ७ जनाको मृत्यु भएको हो । हिंजो भने संक्रमणबाट मर्नेको संख्या अहिलेसम्मकै उच्च २३ पुगेको थियो ।
प्रदेश १ सामाजिक विकास मन्त्रालयको तथ्यांक अनुसार २४ घण्टायता मृत्यु हुनेमा झापाका १ जना, मोरङका १, सुनसरीका ३ र अन्य जिल्लाका २ जना रहेका छन् । योसँगै प्रदेश १ मा कोरोना संक्रमणका कारण ज्यान जानेको संख्या २१४ जना महिला र ५२१ पुरुष गरी ७३५ जना पुगेको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या भने ४९ हजार ५८० पुगेको छ । संक्रमित भएका मध्ये ३२ हजार ९ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या १६ हजार ८३६ पुगेको छ । प्रदेश १ मा आज २ हजार ५८६ जनाको पीसीआर परीक्षण गरिएका मध्ये ४२४ महिला र ६१५ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।