विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–३ लोचनीमा एक्लै बस्दै आएका एक व्यक्तिको सुतेकै ओछ्यानमा बीभत्स हत्या भएको छ ।
धारिलो हतियारले प्रहार गरेर हत्या गरिएको अवस्थामा सुन्दरहरैँचा –३ का ४० वर्षीय विष्णु ऋषिदेवको शव शुक्रबार बिहान फेला परेको मोरङ प्रहरीले जनाएको छ ।
मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईका अनुसार ऋषिदेवको घाँटीमा धारिलो हतियारले प्रहार गरेर हत्या गरिएको आशङ्का छ । हत्याको खवर प्राप्त गरेर प्रहरी घटनास्थल पुग्दा घरभित्र खाटमा लडिरहेको शव भेटिएको हो । घटनास्थल रगताम्य रहेको बताइएको छ ।
घटनाको प्रकृति हेर्दा निदाएका बेला कुनै धारिलो हतियारले घाँटीको अगाडिको भागका काटेर हत्या गरिएजस्तो देखिने डिएसपी राईले बताए । स्थानीयका अनुसार गछिया खोला छेउको ऐलानी जग्गामा टिनको छानो भएको र टाटीको बेरा लगाएर बनाइएको झुप्रो घरमा उनी एक्लै बस्थे । उनकी श्रीमतीको मृत्यु भइसकेको र छोराछोरी पनि बाहिर नै बस्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।
ज्यालामजदुरी गर्ने विष्णु दैनिक बिहानै उठेर काममा जाने गरेका थिए । ढिलोसम्म पनि उनी काममा ननिस्किएपछि बोलाउन गएका साथीहरुले घरभित्रै शव देखेपछि प्रहरीलाई खवर गरेका थिए ।
प्रहरीले घटनामा संलग्नको पहिचानको प्रयास भइरहेको र गम्भीर ढङ्गले अनुसन्धान अघि बढाइएको जानकारी दिएको छ ।

