विर्तामोड । कोरोना भाइरसको संक्रमण भएकी गर्भवती श्रीमतीलाई छाडेर झापाका एक व्यक्ति बेपत्ता भएका छन् ।
झापाको मेचीनगर नगरपालिका १३ स्थित चारआली बजार नजिकै डेरा बस्ने गर्भवती श्रीमतीलाई बेवारिसे छाडेर उनका श्रीमान सम्पर्कबिहीन बनेका हुन्।
कोरोना संक्रमण पुष्टि भएपछि घरबेटीले समेत उनीहरुलाई डेराबाट निकालिदिएका छन् । कोठाबाट निकालिएकी ती महिलालाई श्रीमानले मंगलबार साँझ चारआलीस्थित आइतबारे बजारको टहरामा बेवारिसे छाडेर फरार भएको मेचीनगर–१३ वडाध्यक्ष कृष्णराज सिग्देलले जानकारी दिए।
ती महिलाले गत आइतबार मेची अञ्चल अस्पतालमा गएर पिसिआर परीक्षण गराएकी थिइन्। सोमबार आएको रिपोर्टमा उनलाई कोरोना पोजेटिभ देखिएको थियो। त्यसपछि श्रीमानले उनलाई टहरामा लगेर छाडेका हुन्।
ती महिलालाई टहराबाट उद्धार गरी एम्बुलेन्समा हालेर मेचीनगर नगरपालिकाले बनाएको कोभिड आइसोलेसनमा लगिएको छ । दमक नगरपालिका–५ सन्देश कँडेलसँग ती महिलाले २०७७ साल मंसिरमा प्रेम विवाह गरेको खुलेको छ।
श्रीमान् कँडेल पेशाले गाडीका सहचालक हुन्। महिलाको माइती चारआली नै हो। विवाहपश्चात उनीहरू डेरामा बस्दै आएका थिए।

