आईसोलेसनमा बसेका मोरङका पत्रकारलाई निःशुल्क टेलिमेडिसिन सेवा

विराटनगर । कोरोना संक्रमण भएर आईसोलेसनमा बसेका मोरङका पत्रकारले निःशुल्क टेलिमेडिसिन सेवा पाउने भएका छन् ।

क्युरा हेल्थका बिशेषज्ञ चिकित्सकले पत्रकारहरुलाई निःशुल्क स्वास्थ्य सम्बन्धी आवश्यक परामर्श (टेलिमेडिसिन सेवा) उपलब्ध गराउने भएका हुुन् । सामान्य लक्षणसहितका संक्रमित पत्रकारहरुलाई आवश्यक परामर्श तथा उपचारका लागी अस्पताल धाउनुपर्ने अवस्थाको अन्त्य गर्न क्यूरा हेल्थले यस्तो सुविधा उपलब्ध गराउने भएको क्यूरा हेल्थकी प्रबन्ध निर्देशक जयश्री जाजुले बताउनुभयो । उहाँले कोरोना महामारीका कारण उत्पन्न हुनसक्ने डर, त्रास र संक्रमितको मनोवस्थालाई समेत मध्यनजर गर्दै आवश्यक मनोसामाजिक परामर्शसहितको टेलिमेडिसिन सेवा उपलब्ध गराउन लागिएको जानकारी दिनुभयो ।

‘टेलिमेडिसिन सेवा प्राप्त गर्न क्यूरा हेल्थको मोबाइल एप्लिकेशन डाउनलोड गर्नुपर्छ’, उहाँले भन्नुभयो, ‘एपमा देखाईए अनुसार कोभिड–१९ खण्डमा गई सुचीकृत भएका चिकित्सकहरुसँग एप्वाईन्टमेन्ट लिनुपर्छ र चिकित्सकहरुबाट सेवा प्राप्त गर्न सकिन्छ ।’

प्लाज्मा दानका लागी बेवसाईट सञ्चालन

यसैबीच क्यूरा हेल्थसँगको सहकार्यमा नेपाली युवा उद्यमी मञ्च (एन.वाइ.ई.एफ) विराटनगर शाखा र पत्रकार महासंघ मोरङ शाखाले प्लाज्मा दान गर्न चाहने र प्लाज्मा आवश्यक भएका व्यक्तिहरुलाई सम्पर्क गराउन छुट्टै वेभ लिङ्क समेत सञ्चालनमा ल्याएको छ । मञ्चका विराटनगर शाखा अध्यक्ष युनेशराज श्रेष्ठले प्लाज्मा दान गर्न चाहने व्यक्तिहरुले सो वेबसाईटमार्फत आफ्नो विवरणसहित सम्पर्क गर्न सकिने व्यवस्था मिलाईएको बताउनुभयो ।

बेवसाईटले प्लाज्मा दिन चाहने र प्लाज्मा आवश्यक पर्ने व्यक्तिबिच समन्वयकर्ताको भुमिका निर्वाह गर्ने नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष सञ्जीव खनालले बताउनुभयो । उहाँले अस्पतालहरुमा उपचाररत संक्रमितहरुका लागि सामाजिक सञ्जालहरुमा प्लाज्मा आवश्यक भएको सूचनाहरु धेरै आउन थालेकोले प्लाज्मा दिन ईच्छुकहरुलाई बेवसाईटमा आफ्नो विवरण उल्लेख गरिदिन समेत आग्रह गर्नुभयो ।

प्लाज्मा दान गर्न चाहने व्यक्तिले भने क्यूरा हेल्थको बेवसाईट http://curahealth.org/plasmanepal मार्फत सम्पर्क गरि आफ्नो व्यक्तिगत विवरण उपलब्ध गराउनसक्ने जनाईएको छ ।

शनिबार, ०१ जेठ, २०७८, साँझको ०७:४६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर