विराटनगर । पछिल्लो १२ घण्टामा विराटनगर स्थित विभिन्न अस्पतालहरुमा कोभिड–१९ को उपचार गराइरहेका आठ जना संक्रमितको मृत्यु भएको छ ।
विरानगरको नोबेल शिक्षण अस्पतालमा शुक्रबार राती १० बजे एक जना र बिहान दुई जना गरी तीन जनाको मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिएका छन् । नोबेलमा मृत्यु हुने सबै विराटनगरका छन् । विराटनगर ५ कि ५२ वर्षे महिला, विराटनगर ८ का ६४ वर्षे पुरुष र विराटनगर १ का ४५ वर्षे पुरुषको उपचारका क्रममा मृत्यु भएको दाहालले जानकारी दिए ।
यसैगरी टंकीसिनुवारी स्थित विराट शिक्षण अस्पतालमा उपचार गराइरहेका तीन जना बिरामीको पछिल्लो १२ घण्टामा ज्यान गएको छ । मृत्यु हुनेमा सुनसरी र मोरङका विरामीहरु रहेका छन् ।
प्रदेश सरकारले सञ्चालन गरेको कोसी कोभिड अस्पतालमा उपचाररत दुई जना बिरामीको राति र बिहान मृत्यु भएको बताइएको छ । तर चिकित्सकले मृत्यु प्रमाणपत्र तयार नपारेका कारण अस्पतालले उनीहरुको विवरण सार्वजनिक गरेको छैन ।