विराटनगर । पार्टी एकता भएको १ वर्ष कटिसक्दा पनि प्रतिनिधिसभा संसदीय दलको नेता चयन गर्न नसकेको जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षले राजेन्द्र महतोलाई दलको नेता चयन गरेको छ ।
बहुमत पक्षले दलको नेता चयन गरिएको सो पक्षले बताएपनि उपेन्द्र यादव पक्षले भने त्यसलाई अस्वीकार गरेको छ ।
भक्तपुरको एक रिसोर्टमा हिंजो बसेको जसपाका सांसदहरुको भेलाले महतोलाई संसदीय दलको नेता चयन गरेको बताइएको छ । भेलामा बहुमत सांसद उपस्थिति भएको दाबी गरिएको छ ।
प्रधानमन्त्री केपी ओलीको निरन्तरताको पक्षमा रहेका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता महतोले एमाले नेता महेश बस्नेतको व्यवस्थापनमा आफ्ना सांसदहरुलाई भक्तपुर पुर्याएका थिए।
यता उक्त निर्णयबारे जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव पक्षलाई कुनै जानकारी छैन । पार्टीमा संसदीय दलको नेताका लागि उपेन्द्र यादव, महन्थ ठाकुर र राजेन्द्र महतोले दावी गर्दै आइरहेका थिए । जसपामा दलको नेता चयनको विषयमा कुरा मिलिरहेको थिएन । पछिल्लो समय अध्यक्ष ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा बहुमत पुर्याउनका लागि संकलन गरेको हस्ताक्षर अभियानमा राजेन्द्र महतो सहभागी भएका थिएनन् । हस्ताक्षर जुटाएर महन्थ ठाकुर स्वयं संसदीय दलको नेता बन्न थालेको भन्दै महतो हस्ताक्षर कार्यक्रममा सहभागी नभएका हुन् ।
जसपा नेपालका कार्यकारिणी सदस्य एवं सांसद रामसहाय यादवले राजेन्द्र महतो संसदीय दलको नेता बनेकोमा पार्टीलाई कुनै जानकारी नरहेको प्रतिक्रिया दिएका छन् ।