काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तेस्रो पटक प्रधानमन्त्रीको रुपमा पद तथा गोपनियताको सपथ लिएका छन् ।
पदमुक्त भएको तीन दिनपछि नै ओली पुनः हिंजो राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रधानमन्त्री पदमा नियुक्त भएका थिए । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ), सभामुख अग्नि सापकोटा, प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो ।
राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा २ अनुसार सरकार गठनका लागि दिएको समयसीमा बिहीबार राति ९ बजे सकिएको थियो । उक्त समय भित्र धारा ७६(२) अनुसार कसैको पनि दाबी गरेनन् ।
यो सँगै केपी शर्मा ओली मुलुकको ४२ औँ प्रधानमन्त्री भएका छन्। प्रधानमन्त्री भएको एक महिनापछि ओलीले संसदमा विश्वासको मत लिनुपर्नेछ। विश्वासको मत पाएनन् भने उनी फेरि पदमुक्त हुनेछन्। ओली पदमुक्त भएर संविधानको धारा ७६ को ५ अन्तर्गत नयाँ प्रधानमन्त्री बन्ने अवस्था आउँछ।
नेपालमा कम्युनिष्ट पार्टीका नेताको रुपमा तेस्रो पटक प्रधानमन्त्री हुने ओली पहिलो व्यक्ति हुन् । दोस्रो पटक भने यसअघि माओवादी अध्यक्ष प्रचण्ड र ओली दुई पटक प्रधानमन्त्री भएका थिए । पञ्चायती शासनको अन्त्यपछि कम्युनिष्ट पार्टीका तर्फबाट प्रधानमन्त्री हुने पहिलो व्यक्ति मनमोहन अधिकारी हुन् भने गणतन्त्रका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) हुन् । त्यसबाहेक कम्युनिष्ट पार्टीको तर्फबाट एकएक पटक प्रधानमन्त्री हुनेहरुमा डाक्टर बाबुराम भट्टराई र माधवकुमार नेपाल रहेका छन् ।