विराटनगर । मोरङका तीन वटा अस्पतालमा थप नौं जना कोरोना भाइरस सङ्क्रमितको मृत्यु भएको छ । बिहीबार साँझदेखि शुक्रबार विहानसम्म उनीहरुको मृत्यु भएको हो । विराटनगरको नोबेल मेडिकल कलेजमा ४, कोशी कोभिड–१९ उपचार केन्द्रमा ३ र मोरङको बूढीगङ्गा गाउँपालिकास्थित विराट मेडिकल कलेजमा २ जनाको मृत्यु भएको हो ।
नोबेलमा सुनसरीको धरान उपमहानगरपालिका–१ का ३८ वर्षीय पुरुषको मृत्यु भएको छ । अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार पीसीआर परीक्षण गराउँदा कोरोना पुष्टि भएपछि उनलाई गत वैशाख २२ उपचारका लागि ल्याइएको थियो ।उनको शुक्रबार बिहान २ बजेतिर मृत्यु भएको हो ।
नोबेलमै बिहान ६ः३० बजेतिर विराटनगर महानगरपालिका–१६ की ७४ वर्षीया वृद्धा महिलाको मृत्यु भएको छ । पीसीआर परीक्षण गराउँदा वैशाख २७ गते उनको रिपोर्ट पोजिटिभ आएकोमा शुक्रबार सबेरै अस्पताल लगिएको थियो । उपचारका लागि ल्याएको केहीबेरमै चिकित्सकले उनलाई मृत घोषित गरेका थिए ।
यस्तै धनकुटा जोरपाटीका ५६ वर्षीय पुरुषको पनि बिहान ५ बजेतिर नोबेलमै मृत्यु भएको छ । मधुमेह र उच्च रक्तचापको समस्या रहेको उनमा कोरोना पुष्टि भएपछि उपचारका लागि वैशाख २८ गते भर्ना गरिएको थियो ।
महोत्तरी घर भएका ७७ वर्षीय वृद्ध पुरुषको पनि नोबेलमै बिहान ५ः३० बजेतिर मृत्यु भएको छ । कोरोना पुष्टि भएर घरमै रहेका उनलाई शुक्रबार विहान १ बजेतिर मात्रै अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।
विराटनगरकै कोशी कोभिड–१९ उपचार केन्द्रमा विराटनगर महानगरपालिका–११ मा बस्दै आएका ३८ वर्षीय पुरुषको १२ः३० बजेतिर मृत्यु भएको छ । महिला अधिकारका क्षेत्रमा कार्यरत ओरेक नेपाल विराटनगरका परियोजना संयोजक दीपक सेन्च्युरीको मृत्यु भएको हो । वैशाख १९ गते अस्पताल भर्ना गरिएका उनको भेन्टिलेटरमा मृत्यु भएको उपचार केन्द्रका अधिकारी अनुपम राजवंशीले बताए ।
विराटनगर–६ का ५६ वर्षीय पुरुषको पनि उपचारकै क्रममा बिहान १ बजेतिर कोशी कोभिड उपचार केन्द्रमा मृत्यु भएको छ । कोरोना सङ्क्रमित पुरुषलाई उपचारका लागि वैशाख २४ गते अस्पताल भर्ना गरिएको थियो ।
कोशी कोभिडमै सुनसरीको इटहरी उपमहानगरपालिका–५ का ७९ वर्षीय वृद्ध पुरुषको मृत्यु भएको छ । बिहीबार अस्पताल भर्ना गरिएका उनको बिहान १ः३० बजेतिर मृत्यु भएको केन्द्रले जनाएको छ ।
त्यस्तै मोरङको बूढीगङ्गास्थित विराट मेडिकल कलजमा विराटनगर–९ का ४९ वर्षीय पुरुषको बिहीबार साँझ ७ः४० बजेतिर मृत्यु भएको छ। उनलाई उपचारका लागि वैशाख २० गते भर्ना गरिएकोमा उपचारको क्रममा मृत्यु भएको विराटका कोभिड अस्पताल इन्चार्ज सुनील देवले बताए ।
विराटनगर–६ का ६४ वर्षीय वृद्ध पुरुषको बिहीबार राति ८ बजेतिर विराटमै मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि वैशाख २० मा अस्पताल भर्ना गरिएका उनको आईसीयूमा उपचारका क्रममा मृत्यु भएको हो ।