आमा ! तिम्रो र मेरो कनेक्सन

 सृजना नेपाल

मातातीर्थ औंसी । वैशाख शुक्ल प्रतिपदाको दिन मनाईने यो पर्व । आमालाई सम्झना गर्ने, स्मरण गर्ने, माया गर्ने दिन । हुनत कहिले पो आमाबाट टाढा भईन्छ र ! भौतिक रुपमा टाढा भएपनि मनमस्तिष्कबाट सधैं नजिक भईन्छ । परापूर्व कालदेखि आजसम्म यो दिनको महत्व त्यति नै छ ।
आमा! तिम्रो मेरो कनेक्सन त म गर्भ मै आए देखि होला तर यति धेरै प्रगाढता चाहि मेरो उमेर बढे सगै महसुस भएको थियो । धेरै कुरा आज पनि मेरो स्मरणमा ताजा छ आमा । मेरो परीक्षा हुँदा सबै भन्दा बढि तिमी चिन्तित हुन्थ्यौं । कुन विषय मलाई गाह्रो लाग्ने, कुन सजिलो लाग्ने सबै तिमीलाई थाहा हुन्थ्यो । तिमीलाई के थाहा, त्यो समाजशास्त्री मेक्स वेबरको परिभाषा । त्यहि पनि म सुनाउथे । यो लेखकको परिभाषा लेखे, यसो लेखे भनेर । न तिमी वाक्क हुन्थ्यौं मेरा कुरा सुनेर, न म वाक्क हुन्थे, तिमीलाई सुनाएर । यस्ता धेरै कनेक्सन छन्, आमा ! तिमीसँग मेरो । कुन दिन रिजल्ट आउने, कुन चिज सबैभन्दा मिठो लाग्ने कुन नलाग्ने सबै । मैले नभनी तिम्रो स्मरणमा रहिरहन्थ्यो, आमा ।

विवाह भएर गएपछि नि आमा ! घर फेरियो । समय परिवेश सबै फेरियो । तर, तिम्रो र मेरो कनेक्सन कहिल्यै फेरिएन । जति थियो, त्योभन्दा गाढा हुँदैगयो । मेरो पढाई, भविष्य, जागिर, वैवाहिक जीवन, सबैमा तिमी धेरै जोडियौं । जब म टेन्सनले जिन्दगीका मोडमा अल्झिएर सबै भविष्य अन्धकार देख्दा तिम्रो फोनको घण्टी बज्दथ्यो, म चाहेर पनि तिमिलाई लुकाउन सक्दिनथें । तिमीले मेरो आवाजबाटै सबै थाहा पाउँथ्यौ । अनि म बिरामी हुँदा तिमीले थाहा पाईसक्छौं । यो भयो होला, त्यो भयो होला । त्यसपलमा म तिमीलाई खिल्याउँथें । आकक ! डाक्टरलाई नदेखाई थाहा हुन्छ भनेर । तर, जब डाक्टरलाई देखाउँछु तिमीले जे भयो भन्थ्यौं नि डाक्टरले त्यहि भन्छ । तिमी त ज्योतिषी नै हौ कि जस्तो लाग्छ । ल हेर त तिम्रो र मेरो कनेक्सन, आमा ।

आमा ! म पनि आमा भएँ । मैले पनि तिमीले जस्तै एउटी प्यारी छोरीलाई जन्म दिएँ । अब त हामी तिनैबीच कनेक्सन भयो नि, आमा । तिमी त आमाभन्दा नि एक स्टेप माथि महाआमा भईसक्यौं । तिमीले जानेजति सबै सिकायौं, मलाई । आमा हुँदाको अनुभुति साँच्चै नै मिठो हुँदोरहेछ । उ हाँस्दा, उ रुँदा, पहिलो पटक मामु भन्दा । त्यो अनुभुति त तिमीले गरिसकेकी थियौं, आमा ।

नानी जन्मिएपछि अलिकति म टाढा पो भएँकी ! तर, तिमिले कहाँ टाढा हुन दिन्थ्यौं र ? मैले नभ्याएर के भो त ? तिमी आफैं सम्झेर फोन गरिहाल्थ्यौं । तिमीलाई अब एउटै ईच्छा थियो, मैले लोकसेवामा नाम निकालोस् भन्ने । तिमीले ‘एक हातमा कोक्रोको डोरी लिने, अर्को हातमा किताब’ भनेको कुराले, जतिन्जेल मैले छोरीको कोक्रो हल्लाएँ, मन लागे नि नलागे नि म पुस्तक समाउथे । जाँच दिएर आउँथे म, रिजल्ट आउँथ्यो । तिमीलाई लुकाउन खोज्दथे म । तर, तिमीले सपनीमै संकेत पाइसक्थ्यौ । ‘रिजल्ट के भयो नी ! सपनामा त मसँगै थियौं, खोलामा । तरेनांै ।’ लु हेर ! तिम्रो मेरो कनेक्सन । मैले ठग्न खोजेर भयो त ? तिमीले त सपनीमै थाहा पाइसक्छौं । म अब सक्दिन पार नलाग्ने भो भनेर किताब बन्द गरेर ढल्केको हुन्थें, त्यतिखेर तिम्रो फोन आउथ्यो । तिमीले कसरी थाहा पाउँथ्यौं ? म थाकेको । म हारेको । अचम्म लाग्छ । तिमी एक ःयतष्खबतष्यलब िक्उभबपभच बनेर आउँछौ । तिम्रो प्रत्येक कुराले यति तरङ्गित हुन्थें, जुरुक्क उठेर फेरि पुस्तक पल्टाउन थाल्थें ।

तिमी र मेरोबीचमा छोरी, श्रीमान् आएपनि तिमीले त्यो कनेक्सन कहिल्यै टुट्न दिइनौं । जब मलाई तिम्रो आवश्यक पथ्र्याे, तिमीलाई म भन्न सक्दिन थिएँ । तिमी आफैं अन्तरयामी भएर या मेरो मनलाई पढेर या आफै थाहा पाएर ‘ल म आउछु, एकदुई दिन भए नि राम्रोसँग तयारी गर्नु’ भन्थ्यौं । कसरी थाहा पाउँथ्यौं, तिम्रो मलाई जरुरी छ भनेर ? सानै पदमा नाम निकाल्दा तिमीले अँगालो मारी रुँदै ‘एक्लै सानो नानीसँग बसेर नाम निकाल्नु सानो कुरा हो र ? भन्दै गर्व पो ग¥यौं । हेर केही पलमा कति महान् बनाईदियौं आमा मलाई तिम्रो नजरमा ! जागिर नि खान थालें । तिमीलाई अब ‘जागिर नि खान जान्छे नानि कसरी व्यवस्थापन गर्छे ?’ यो सब मैले सोच्नुभन्दा अघि तिमीले सोचीवरी सबै प्रवन्ध मिलाईदिन्छयौं । आमा हेर त ! तिम्रो मेरो कनेक्सन गर्भदेखि सुरुवात भएर कहाँसम्म आईपुग्यो ?

घरिघरि तिमीलाई अंगालो भरि पाउन खोज्छु । मनभरि अनुभव गर्न खोज्छु, अनि फोन गर्छु खाली खाली हुन्छु । तृप्त हुन्न । रुसोले झैं माया गरुँ कि ! कपाल निलु कि ! कसो गरुँ !

मङ्गलबार, २८ बैशाख, २०७८

प्रतिक्रिया

प्रतिक्रिया:

सम्बन्धित खवर