धरान । हरेक वर्ष झैं यो वर्ष पनि सुनसरीको धरान उपमहानगरपालिकामा खानेपानीको अभाबले दैनिक जनजीवन कष्टकर बनेको छ ।
कोरोनाले महामारीले पीडित भएका नागरिकहरु पर्याप्त खानेपानी अभावले काकाकुल बनेका छन् । धरानका १ देखि १९ नम्बर वडामै नियमित रुपमा खानेपानीको आपूर्ती हुन सकेको छैन ।
नियमित घरमा खानेपानी नआएका कारण सर्वसाधारण एक घण्टा हिँडेर बम धारा, खत्री धारा, विष्णुपादुका, चारकोसे झाँडीलगायतका स्थानबाट पानी ओसार्न बाध्य छन् । हुनेखानेले भने मिनिरल वाटर र ट्याङकरबाट पानी किनेर दैनिकी चलाइरहेका छन् ।
धरानमा खानेपानी समस्या भए पश्चात विभिन्न सामाजिक संघसंस्थाले स्थानीयलाई निःशुल्क पानी वितरण पनि सुरु गरेका छन् । धरानवासीलाई उपमहानगरपालिकाले आवश्यक खानेपानी वितरण नगरेका कारण धरानवासी काकाकुल बन्नु परेको स्थानीयको गुनासो छ ।
धरानका अधिकांश घरमा जडान गरिएका धारामा पानी आउन छाडेको धरान १६ का लक्ष्मण बस्नेतले बताए । उपमहानगरले खानेपानी संस्थानलाई आफू मातहतको खानेपानी व्यवस्थापनमा समायोजन गरेलगत्तै धरानमा खानेपानीको हाहाकार हुन थालेको हो ।
एसियाली विकास बैंकको आर्थिक सहयोगमा धरानमा निर्माण थालिएको धरान खानेपानी आयोजनामा पुरा नहुँदा हरेक हिउँदमा धरानबासीले खानेपानीको अभाब झेल्नुपरेको छ । आयोजनामा करौंडौ रुपैयाँ भष्टाचार भएको आरोप लाग्दै आएको छ ।
धरानमा दैनिक ३ करोड लिटर खानेपानीको माग भएपनि धरान खानेपानी व्यवस्थापन बोर्डले दैनिक एक करोड लिटर पानी पनि वितरण गर्न सकेको छैन् । खानेपानी अभावकै कारण होटल, कलकारखाना सञ्चालनमा गम्भीर समस्या आएको होटल एसोसिएसन धरानका उपाध्यक्ष तथा धरान किचनका सञ्चालक कृष्ण पाठकले बताए ।
धरानमा कुल ३५ हजार निजी धारा छन् । ३०४ सार्वजनिक धारा जडान गरिएको भएपनी खानेपानी व्यवस्थापन बोर्डले सार्वजनिक धारामा पानी वितरण नगरेका कारण सुकुम्वासीलगायत निम्न आयश्रोत भएका सर्वसाधारणहरु खानेपानी सुविधाबाट बञ्चित भएका छन् ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले धरानमा खानेपानीको हाहाकार भएको जनगुनासो आएपछि तत्काल सबै घरमा पानी वितरण गर्न धरान खानेपानी व्यवस्थापन बोर्डका प्रमुख राजु पोखरेललाई निर्देशन दिएको बताए । खानेपानी वितरणमा लापरवाही गरिएको पाइए बोर्डका कर्मचारीलाई कडा कारवाही गर्ने प्रशासनले चेतावनी दिएको छ ।
तस्बिरः रत्न आचार्यको फेसबुकबाट साभार