विराटनगर । विराट व्यापार संघले फ्रन्टलाईनर व्यापारी/व्यावसायीहरुलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउन प्रदेश १ सरकारसँग माग गरेको छ ।
स्थानीय व्यापारी तथा व्यावसायीहरुको उपभोक्तासँग प्रत्यक्ष कारोबार हुने भएकाले उनीहरुको कोरोनाको उच्च जोखिममा रहेको भन्दै संघले खोप उपलब्ध गराउन माग गरेको हो ।
बुधबार प्रदेश सरकारकी सामाजिक विकास मन्त्री उषाकला राईसँग भेटवार्ता गर्दै संघका अध्यक्ष सुजन थापाले पसल, वर्कशप, सार्वजनिक यातायात र मल लगायतका क्षेत्रहरुमा उपभोक्ताको चाप अत्याधिक हुने भएकाले स्थानीय व्यावसायीहरु कोरोनाको उच्च जोखिममा रहेको बताए । उनले पहिलो चरणको खोप लक्षित वर्गले मात्र पाएको भन्दै स्थानीय व्यापारी/व्यावसायीहरुलाई पनि खोप उपलब्ध गराउन आवश्यक रहेको जिकिर गरे ।
यस्तै पुर्नजिवित हुन थालेका व्यापार/व्यावसायहरु कोरोना महामारीका कारण पुनः थलिदै गएको अध्यक्ष थापाको भनाइ थियो । उहाँले व्यापार सहजीकरणका आवश्यक पहल गरिदिन समेत मन्त्रालयसँग आग्रह गरे ।
सामाजिक विकास मन्त्री राईले भने व्यापारी वर्गलाई खोप उपलब्ध गराउनेबारे आवश्यक पहल गरिने आश्वासन दिइन् । उनले ‘म्युटेन्ट भेरियन्ट’ सहितको कोरोना तुलनात्मक रुपमा बढी जोखिमपूर्ण भएकाले तत्काल आफैले सुरक्षाका विधिहरु अपनाउन आग्रह गरिन् । मनतातो पानीले नुहाउने तथा बाफ लिने बानी बसाल्नुपर्छ, ‘उनले भनिन, ‘असुरो र पारिजात उमालेर दिनको ३ पटक बाफ लिँदा, ३ दिनमा कोरोना चैट हुन्छ ।’
हाल विराट व्यापार संघमा आबद्ध १ हजार ८ सयभन्दा बढी व्यापारी/व्यावसायीहरुले भने कोरोनाविरुद्धको खोप नलगाएको संघले जनाएको छ ।