विराटनगर । नेकपा एमालेको खनाल–नेपाल पक्षले युवा संंघ नेपाल विराटनगरमहानगर कमिटी गठन गरेको छ ।
प्रदेश, जिल्ला र नगर तहमा समेत समानान्तर कमिटी बिस्तार गरिरहेको खनाल–नेपाल पक्षले बुधबार सुरेन शाक्यको अध्यक्षतामा १५१ सदस्यीय युवा संंघ नेपाल महानगर कमिटी गठन गरेको हो ।
कमिटीको उपाध्यक्ष क्रमशः कल्याण कटुवाल र ईश्वर माझी रहेका छन् भने सचिवमा जुनु पोख्रेल, सहसचिवमा क्रमशः संजय गुप्ता, निरज मल्ल र दिना यादव तथा कोषाध्यक्षमा रितेष गौतम रहेका छन् ।
नेकपा एमाले केन्द्रीय सदस्य एव पूर्व सामाजिक विकास मन्त्री जीवन घिमिरेको प्रमुख आतिथ्यमा एमाले विराटनगर महानगर कमिटिको कार्यलयमा सम्पन्न भएको थियो । मंगलबार मात्रै बिमल तामाङको अध्यक्षतामा ३५ सदस्यीय लोतान्त्रिक आदिवासी जनजाति महासंघ विराटनगर गठन भएको थियो ।
खनाल–नेपाल पक्षले चैत २८ गते एमालेका पुराना नेता चन्द्रवीर राईको अध्यक्षतामा ३ सय ३१ सदस्यीय समानान्तर जिल्ला कमिटी र युवा नेता पारुल क्षेत्रीको अध्यक्षतामा एक सय ७५ सदस्यीय महानगर कमिटी गठन गरेको थियो । दुवै कमिटी गठन गरेको दुई हप्तापछि सो समूहले महानगरपालिकामा आफ्नो कार्यालय स्थापना गरी समानान्तर गतिविधि गर्दै आएको एमाले खनाल–नेपाल पक्षका विराटनगर महानगर कमिटी अध्यक्ष पारुल क्षेत्रीले बताए ।