हाम्रोमत समाचार प्रभाव

विराट आँखा अस्पतालद्वारा कर्मचारीसँग माफी माग्दै पारिश्रमिक दिने सहमति

विराटनगर । मोरङको विराटनगर–१४ स्थित विराट आँखा अस्पतालले आफ्नो पुर्व कर्मचारीहरुसँग क्षमा माग्दै पारिश्रमिक सहितको सबै सेवा सुविधा दिने सहमति गरेको छ ।

मंगलबार हाम्रोमत दैनिकले ‘विराट आँखा अस्पतालको बदमासी : पारिश्रमिक माग्दा महिलामाथि दुर्व्यवहार’ भन्ने शीर्षकमा समाचार प्रकाशन गरेपछि बुधबार अस्पतालले यस्तो सहमति गरेको हो । बुधबार अस्पताल प्रशासन र पुर्व कर्मचारीहरुबिच बक्यौता पारिश्रमिक, सञ्चय कोष, उपदान, दशैं खर्च, घर बिदा र बिरामी बिदा सहितको सबै सेवा सुविधा दिने सहमति भएको हो ।

अस्पतालले १ हप्ताभित्र श्रम ऐनमा व्यवस्था भएको सबै सेवा सुविधा दिने सहमति गरेको समाजवादी ट्रेड युनियन महासंघ, प्रदेश १ का सह–संयोजक राजेशकुमार यादवले जानकारी दिए ।

यस्तै अस्पताल प्रशासनले मङ्गलबार पारिश्रमिक माग्न गएका दुई महिला कर्मचारीहरुसँग दुर्व्यवहार गरेकाले क्षमा समेत मागेको छ ।

मंगलबार आफुले काम गरेको अवधिको पारिश्रमिक माग्न जाँदा अस्पताल प्रशासनले आईकेयर वर्कर नितु शाह र अप्टोमेट्रिस्ट सारिका यादवलाई ‘तिमीहरुलाई कसले प्रवेश दियो ?’ भन्दै पुरुष गार्ड बोलाएर उनीहरुमाथि दुव्र्यवहार गरेको थियो ।

विराटनगर–१६ निवासी नितु शाह वि.सं. २०६९ सालदेखि विराट आँखा अस्पतालमा आईकेयर वर्करको रुपमा कार्यरत थिईन् । वडा नं. १४ निवासी सारिका यादव भने विगत ४ वर्षदेखि सोही अस्पतालमा अप्टोमेट्रिस्टको पदमा कार्यरत थिईन । कोरोना महामारीका कारण गत २०७६ चैत्र ९ गते उनीहरुसँगै अस्पतालमा कार्यरत अनमी, रनर र स्वीपर सहित करिब १ सय जनाले रोजगारी गुमाएका थिए । अस्पतालले बिरामीको चाप बढेपछि पुनः बोलाउने भनेर सबैलाई बिदाई गरेको थियो । तर २०७७ साउन १३ गतेदेखि अस्पताल पुनः सञ्चालनमा आउँदा पनि अस्पतालका पुर्व कर्मचारीहरुले जागिर पाएका थिएनन् । उनीहरुले आफ्नो न्युनतम पारिश्रमिक र अन्य सेवा सुविधा समेत पाएका थिएनन् ।

अस्पताल प्रशासनबाटै पिडित भएका उनीहरु बुधबार जिल्ला प्रहरी कार्यालय मोरङमा अभद्र व्यवहार मुद्दा दर्ता गराउने तयारी थिए । उनीहरुसँगै कामबाट निकालिएका २ दर्जन बढी कर्मचारीहरु बुधबार बरोजगार अवधिको पैसा दिनुपर्ने, वार्षिक १२ हजारका दरले सञ्चय कोषको बक्यौता भुक्तानी गर्नुपर्ने र श्रम ऐनले व्यवस्था गरेको सम्पूर्ण सेवा सुविधा उपलब्ध गराउनुपर्ने मागसहित श्रम कार्यालय विराटनगरमा निवेदन दर्ता गराउने तयारीमा थिए ।

यो पनि पढनुहोस : विराट आँखा अस्पतालको बदमासी : पारिश्रमिक माग्दा महिलामाथि दुर्व्यवहार

बुधबार, १५ बैशाख, २०७८, साँझको ०६:४१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर