कांग्रेस बेलबारी सचिव खत्रीद्वारा बालिका माथि यौन दुर्व्यवहार, गाउँमै मिलाउन दबाब

विराटनगर । मोरङको बेलबारीमा एक छात्रा माथि भएको यौन दुर्व्यवहारको घटना मिलाउन गाउँमै पञ्चायती बसेको खुलेको छ । घटना सार्वजनिक भए आफू विस्थापित हुने डर पीडित परिवारमा छ ।

गत चैत १३ गते शैक्षिक भ्रमणका क्रममा बेलबारी–२ लालभित्तीमा रहेको शिक्षा सन्देश म्यानेजमेन्ट कलेजका प्रिन्सिपल राजेश खत्रीले १६ वर्षीय छात्रामाथि यौन दुर्व्यवहार गरेका थिए । सोही घटना मिलाउन पञ्चायती बसेको हो ।

गाउँमा बसेको पञ्चायतीले पीडित परिवारलाई गाउँमै घटना मिलाउन दवाव दिएको छ । यौन दुर्व्यवहारको आरोप लागेका खत्री नेपाली कांग्रेस बेलबारीको नगरसचिव हुन् । उनलाई कांग्रेस र एमालेका नेताले दबाव दिएका थिए ।

गाउँमै शुक्रबार बसेको पञ्चायती भेलामा नेकपा एमाले ओली समूहका नेता प्रताप थापाले प्रहरीमा गए कुनै कारवाही नहुने बताउँदै गाउँमै घटना मिलाउन दबाव दिएका थिए । पीडित परिवारसँगको छलफलमा करिब आधा घण्टा बोलेका थापाले गाउँघरको कुरा बाहिर लैजान नहुने भन्दै पीडित परिवारलाई मिल्न दबाव दिए । आफन्त प्रहरी कार्यालयमा पुगेपछि पछिल्लो एकसातामा घटना मिलाउन भन्दै दुई पटक पञ्चायती बसेको स्रोतको भनाइ छ ।

कक्षा १२ को होटल म्यानेजमेन्ट विषयमा अध्ययनरत ३६ जना विद्यार्थीलाई कलेजले प्रति विद्यार्थी नौ हजार रुपैयाँ उठाएर गत चैत ११ गते शैक्षिक भ्रमणका लागि काठमाडौँ लगेको थियो । सोही क्रममा काठमाडौँ लगेर प्रिन्सिपल राजेश खत्रीले कक्षा १२ अध्ययनरत ती छात्रामाथि यौन दुर्व्यवहार गरेका थिए । अन्य विद्यार्थी घुम्न गएका बेला एक्लै बसेको अवस्थामा दुर्व्यवहार भएको पीडितले बताएकी छन् ।

भ्रमणमा गएको टोली चैत १५ गते बिहान फर्किएको थियो । त्यसपछि कलेज प्रशासनले बोलाएको छलफलमा पनि दुर्व्यवहार गरेको पीडित छात्राका बाबुले बताइन् । कलेज सञ्चालक समितिको बैठकले प्रिन्सिपल खत्री र अनुशासन इञ्चार्ज रोशन परियारलाई भने कागज गरेर बर्खास्त गरेको जनाएको छ ।

शैक्षिक संस्थाको प्रतिष्ठामा आँच आउने गरी नैतिकहीन आचारण देखाएर अनुशासनहीन काम गरेको र उक्त कुरा स्वीकार पनि गरिसकेका कारण प्रिन्सिपल खत्री तथा घटना ढाकछोप गरेको भन्दै अनुशासन प्रमुख परियारलाई बर्खास्त गरिएको कागजमा उल्लेख छ ।

कागजमा सञ्चालक समितिका अध्यक्ष लक्ष्मण थापा, उपाध्यक्ष खगेन्द्रप्रसाद न्यौपाने र सदस्यहरू माधवप्रसाद पोख्रेल, सीताराम न्यौपाने, शिवकुमार रूपाखेती र काउन्सिलर भूपाल बस्नेतको हस्ताक्षर छ ।

यता, इलाका प्रहरी कार्यायल बेलबारीका इञ्चार्ज प्रहरी निरीक्षक सरोज खनालले बालिका माथि यौन दुव्र्यवहार भएको घटनाको उजुरी आफूकहाँ नआएको बताएका छन् । ‘घटनाको विषयमा मैले पनि बाहिरबाहिर थाहा पाएँ, हाम्रोमा उजुरी आएको छैन,’ उनले भने, ‘जाहेरी आए अनुसन्धान प्रक्रिया अघि बढाउँछौं ।’

पीडित परिवार न्याय माग्दै केही दिनअघि इलाका प्रहरी कार्यालय बेलबारी पुगेको थियो । प्रहरीले जाहेरी लिएर आउनु भनेपछि फर्किएको पीडित पक्षलाई सामाजका ‘अगुवा’ले प्रहरी जाहेरी दिए बहिस्कारमा पर्ने धम्की दिएपछि पीडित पक्ष डराएको स्रोतको भनाइ छ ।

बुधबार, १५ बैशाख, २०७८, साँझको ०५:४३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर