एम्स् कलेजद्वारा आधुनिक बेकरी हाउस सञ्चालनको तयारी, डेढ करोड लगानी

विराटनगर । विराटनगरमा आधुनिक र सुविधा सम्पन्न लाइभ बेकरी एण्ड कफी हाउस सञ्चालनमा आउने भएको छ ।

बिएचएम विषयको अध्यापन गराउँदै आएको एम्स कलेज विराटनगरले झण्डै एक करोड ५० लाख रुपैयाँको लगानीमा सुविधा सम्पन्न लाइभ बेकरी सञ्चालनको तयारी गरेको हो । विराटनगर ९ स्थित कलेज रोडमा रहेको क्याम्पस परिसरमै बेकरी सञ्चालन हुने छ ।

उपभोक्ताले बेकरी तयारी पार्ने स्थलको प्रत्यक्ष अवलोकन गरेर ताजा बेकरी उपभोग गर्न पाउने गरी रेष्टुरेन्टको डिजाइन गरिएको छ । उपभोक्ताले अर्डर गरेको पाँच मिनेटभित्र बेकरी उपलब्ध गराउने गरी जनशक्ति र प्रविधिको व्यवस्थापन गरिने सञ्चालक टिकाराम पुरीले जानकारी दिनुभयो ।

विराटनगरमा सुविधा सम्पन्न लाइभ बेकरीको अभाव भएकोले त्यसको परिपूर्ति गर्ने उद्देश्यले व्यवसाय स्थापना गरेको कलेजले जनाएको छ । त्यसले कलेजका विद्यार्थीलाई इन्टर्न गर्न अन्यत्र पठाउनु पर्ने समस्या नहुने भएकोले ठूलो लगानी गरेर बेकरी सञ्चालन गर्न लागेको हो ।

बेकरीबाट अर्डर अनुसार २०० प्रकारका वस्तुहरु उत्पादन गर्ने लक्ष रहेको बताइएको छ । अर्डर अनुसार होम डेलिभरी लगायतका सुविधा दिइने कलेजले जनाएको छ । बेकरीस्थलको निर्माण एक महिनाभित्र भइसक्ने र लगतै सञ्चालन गर्ने सञ्चालक पुरीले जानकारी दिएका छन् ।

बुधबार, १५ बैशाख, २०७८, दिउँसोको ०२:४४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर