आर्थिक मन्त्रीमा आङ्बोहाङ्गको इन्ट्री

कम्प्युटर र प्रिन्टर खरिद टिप्पणी स्वीकृत

विराटनगर । नेकपा माओवादी केन्द्र परित्याग गरी एमाले प्रवेश गरेपछि प्रदेश १ को आर्थिक मामिला तथा योजना मन्त्री बनेका टंकबहादुर आङ्बुहाङ्गले प्रदेशको धरातलका आधारमा बजेट र कार्यक्रम अघि बढाउने बताएका छन् ।

मन्त्रीको रुपमा शपथ गरेलगतै मन्त्रालयमा पुगेर उनले पदभार ग्रहण गरेका थिए । मन्त्री आङ्बोहाङ्गले प्रदेश यातायात कार्यालय विराटनगरबाट अनलाइन सफ्टवेर मार्फत सेवा प्रवाह गर्न आवश्यक एउटा कम्प्युटर र प्रिन्टर खरिद प्रस्ताव स्वीकृत गरेर पदभार ग्रहण गरेका थिए । पदभार ग्रहण गर्दै उनले कोभिडका कारण प्रभावित भएको प्रदेशको अर्थतन्त्रलाई प्रदेशको वास्तविक धरातलमा आधारित भएर अगाडि बढाउने बताए ।

प्रदेशको सबै मन्त्रालय र संघीय सरकारसँग समन्वय गरी सन्तुलित ढंगले अघि बढ्ने आफुले सोचेको बताए । दातृराष्ट्रहरुबाट आउने अनुदान र सहयोगका लागि पनि आफुले पहल प्रयत्न गर्ने उनले बताए । आगामी बजेटको प्राथमिकता के हुन्छन् भन्ने विषयमा भने उनले अध्ययन गरेर तय गर्ने प्रतिकृया दिएका छन् ।

भर्खर मन्त्रीको रुपमा नियुक्त भएको र अहिलेको अवस्था अध्ययन गरी कमिकमजोरी सच्याउदै अघि बढ्ने उनले बताए । मन्त्री आङ्बुहाङ्गले भने ‘संघबाट प्राप्त हुने अनुदानका योजनाहरु, प्रदेश सरकारले अगाडि सारेको बहुवर्षिय योजना तथा क्रमागत योजनाहरुलाई निरन्तरता दिदैं सरकार अगाडि बढ्छ । आवश्यक स्रोतको व्यवस्थापन गर्दै काम गर्छौं ।’
पार्टी परित्याग गरी मन्त्री भएको सन्दर्भमा उनले परिवर्तित राजनीतिक अवस्थाको मूल्यांकन गरी आफुले निर्णय लिएको दावी गरे । ठोस परिस्थितिको ठोस विश्लेषण गरेर वर्तमान जिम्मेवारी वहन गरेको उनले बताए । नेकपा माओवादी केन्द्र र नेकपा एमाले दुवै ब्याटेलमा आधारित राजनीतिमा रहेका कारण पार्टी परिवर्तन सामान्य विषय भएको उनले बताए ।

शुक्रबार, १३ चैत, २०७७, साँझको ०७:११ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर