होशियार ! भष्मासुर प्रवृत्ति ज्युँदै छ

 गणेश लम्साल

५ पुसमा प्रधानमन्त्री केपी ओलीले आफ्नो हठका लागि विघटन गराएको प्रतिनिधिसभा सम्मानित सर्बोच्च अदालतले ११ फागुनमा पुनःस्थापना गरिदिएको छ । जसले गर्दा नेपालको अदालत न्याय अन्याय छुट्याउन आफैं सबल र सक्षम छ भन्ने प्रष्ट सन्देश मात्र फैलिएको छैन, आम नेपाली जनतामा अदालतको जनआस्थामा उच्च सम्मान पनि पैदा भएको छ ।

‘मभन्दा माथि कोही छैन, म नै अन्तिम तला हुँ र छत हुँ’ भनेर मख्ख परेझै आफूले चालेको कदम बैधानिक र सही भन्दै देश दौडाहा गरेका ओली र उनका आसेपासेहरु सर्वोच्चको फैसलापछि खिस्रिक्क परेका छन् । तर, उनीहरु अझै अदालतले ‘भष्मासुर’ प्रबृत्तिमाथि प्रहार गरिसक्दा पनि त्यो प्रबृत्ति जगाउनेगरि व्यवस्थापिका विरुद्ध हुंकार गरिरहेका छन् । आफैंले हत्या गर्न खोजेको संसदलाई ‘हैरौला हामीलाई प्रतिनिधिसभामा तैले कसरी हराउँदा रहेछौं, हामी फेस गर्न तयार छौं’ भनेर निर्लज्ज चुनौती दिइरहेका छन् ।

ओलीले जनताको नासो प्रतिनिधिसभा भंग गरेर ‘भस्मासुर’ प्रबृत्ति अंगालेकोकाम दुईमत छैन । उनलाई सन्काहा हठी, स्वार्थी, निरंकुश, अविवेकी र अदुरदर्शी तानाशाही पात्रको रुपमा दुनियाँले चिनेको छ । तर, उनी अझै सच्चिन तयार छैनन् । उनी आफू नै सही हो भन्दै र फेरि पनि पाखुरा सुर्र्केर अनुदारवादी प्रतिक्रिया दिएर जनतासँग जोरी खोजिरहेका छन् । ओली प्रबृत्ति अझै भन्दैछ– ‘अदालतलले प्रतिनिधिसभा पुनःस्थापना गर्नु समान्य कुरा हो । अब अर्को कोर्ष सुरु हुन्छ । सरकार पनि हामी नै बनाउछौं ?’

अचम्म ‘भष्मासुर’ प्रबृत्तिका ओलीमा अझै कुनै पश्चाताप नै छैन । उनले आफूले गल्ती गरेको स्वीकार नै गर्न चाहेका छैनन् । बरु लाजघिन पचाएर आफूले आगो लगाएर खरानी बनाउन चाहेको प्रतिनिधिसभामा लुरुक्क फर्केर छाती फिजाउँदै जनताको नैतिकतासँग जोरी खोज्न चाहेका छन् । आम नेपालीहरुले मात्र नभएर विश्वले नै अनुशरण गर्दै आएको नैतिक परम्परातको खिल्ली उडाइरहेका छन् ।

देशको संविधानको दिगो सुरक्षा गर्ने हो भने हामीले ‘भष्मासुर’ मात्र हैन उसको प्रबृत्तिलाई समुल समाप्त पार्न सक्नुपर्छ । जबसम्म ‘भष्मासुर’ प्रबृत्ति रहिहन्छ तबसम्म देशमा गणतन्त्र र संघीयतालाई खतरा भइरहन्छ । शेरबहादुर, वामदेव र ज्ञानेन्द्र जस्ता ‘भष्मासुर’हरु मिलेर फेरि पनि देशको संविधानविरुद्ध चलखेल गर्ने प्रयत्न गरिरहन्छन् । यसैले उनीहरुलाई पूर्ण रुपले परास्त गर्ने भनेको आम नागरिकहरुको निरन्तर खवरदारी नै हो । हामीले उनीहरुलाई प्रतिपक्षको भूमिका, नैतिक आचारणबारे बुझाउँदै खवरदारी गरिरहनुपर्छ । होसियार ! तिमीहरुलाई हाम्रो राष्ट्रहित विरुद्ध मनपरी गर्ने छुट छैन भनेर ।

अब प्रतिगमन सच्चियो, किन खबरदारी भनेर हामीले चुप लागेर बस्नु नै हुदैन । हामीले त प्रतिनिधिसभा पुनःस्थापना मात्र भएको हो प्रतिगमन सच्चिन बाँकी नै छ भनेर झन् धेरै खबरदारी गरिरहनुपर्छ । दलका नेताहरुलाई देउता मानेर पुजिरहनु हुदैन । उनीहरुले जे गर्छ सबै सहि रहनुहुदैन । हामीले हाम्रो आलोचना गर्ने हकलाई सधै सुरक्षित राख्नुपर्छ । अब बन्ने सरकारहरुलाई कहिल्यै पनि कुनै पनि खाले प्रेस तथा वाक स्वतन्त्रता अर्थात नागरिक स्वतन्त्रता विरोधी कानून बनाउन दिनुहुदैन । कुनैपनि नेतालाई आलोचना गरेकै कारण पक्राउ गर्ने कानूनको पक्षपोषण गर्नुहुदैन । नागरिकहरुमाथि लाठी बर्साउने कानूनहरु खारेज गराउनुपर्छ । नागरिक हक अधिकार र स्वतन्त्रताका लागि हामीले निरन्तर खबरदारी गरिरहुनुपर्छ ।

प्रतिनिधिसभा पुनःस्थापना भएर नयाँ सरकार बन्दैमा फेरि पनि ओली प्रवृत्तिले झैं लोभलालचमा पारेर ‘आफ्ना जति सप्पै टिप्ने तर असल भएपनि अरुका जति सप्पै फ्याँक्ने’ प्रबृत्ति दोहोरिन सक्छ । यसैले पनि हामीले होसियार भष्मासुर प्रबृत्ति ? भन्दै खवरदारी गरिरहरनु पर्दछ । किनभने अब हामीलाई आवेग होइन आशा चाहिएको छ । आश्वासन होइन, कार्यक्रम चाहिएको छ । झुठो सपना हैन, समानता र सबृद्धिको नीति चाहिएको छ । खोक्रा भाषणहरु होइन, जीवीका र न्यायका लागि सकारात्मक विभेद अनुसारको निर्णय चाहिएको छ । अब हामीले ‘जस खोसाखोस र अपजस दोषादोस ’गर्ने ‘ताकपरे घिचुवा राम पोलखुले ङिच्चाराम’ अवसरवादीहरुसँग पनि सर्तक हुनुपर्छ । व्यवस्था परिवर्तनसँगै राजनीतिक अधिकारको सुनिश्चितासँगै समग्र जनताको जीवनस्तरमा उन्नती र सामाजिक न्यायको प्रत्याभुतिका लागि हामीले संघर्ष गर्नुपर्छ । किनभने ७० वर्ष संघर्ष गरेर हामीले व्यवस्था परिवर्तन गरेर आफैंले संबिधान लेखेपनि शुसासन र सार्वजनिक सेवा प्रवाहलाई जनमुखि र जनउत्तरदायी बनाउन सकेका छैनांै । अझै जनता नोकर अनि शासक मालिक हुन् भन्ने प्रबृत्ति कायमै छ ।

भनिन्छ, हरेक मान्छेलाई भ्रममा बाँच्ने अधिकार हुन्छ । यसैले देशको संबिधानमा हुँदै नभएको अधिकारको खड्ग प्रहार गर्ने ‘भष्मासुर’ प्रवृत्तिका कसाई शासक केपी ओलीले अदालतको फैसलापछि आफू सिद्धिसके भन्ने विश्वास नै गरेका छैनन् । यसैले अझै पनि ‘भष्मासुर’ प्रवृत्तिको संरक्षक ओली पदबाट राजिनामा दिन चाहदैनन् । उनले त इतिहासका निर्लज्ज, तानाशाही शासकहरुलाई समेत लाज मान्न बाध्य बनाइदिएका छन् । हिजो श्रीपेच फुकालेर बाहिर निस्कन नचाहने ज्ञानेन्द्रलाई नारायणहिटीबाट बाहिर निकाल्ने हैसियत भएका नेपाली जनता हुन् भन्ने पनि उनले हेक्का गरेका छैनन् ।

ख्याल गरौं मेलो अलिकति पनि सरेन भने खलखली पसिना काढ्ने श्रमिकहरुको कुनै अर्थ हुदैन । यसैले अलिकति पनि नैतिकता प्रदर्शन नगर्ने धर्म र कानूनको ख्याल नगर्ने ‘भष्मासुर’ प्रबृत्तिका मुल नाइके केपी ओलीलाई वालुबाटारबाट बालकोट पु¥याउने जिम्मा हामी नागरिकहरुकै हो । यसैले निर्धक्क खवरदारी गरांै । संबिधानको सुरक्षाका लागि हामीले अब ‘भष्मासुर’ सँग डर मान्नुपदैन । भष्मासुर मरिसकेको छ । तर, हामीले नै नचाहेकोले गर्दा त्यो प्रबृत्तिलाई हामीले व्यवहारबाट निकालेर फ्याँक्न सकेका छैनौ ।

सोमबार, १७ फागुन, २०७७

प्रतिक्रिया:

सम्बन्धित खवर