धरान । सुनसरीको धरान नगर खेलकुद विकास समितिको आयोजनामा ग्रासरुट फुटबल ट्रेनिङ क्याम्प सञ्चालन भएको छ ।
बालबालिकालाई फुटबल खेलको आधारभूत ज्ञान दिनको लागि प्रारम्भिक चरणको ग्रासरुट ट्रेनिङ क्याम्प सञ्चालन गरिएको हो ।
शनिबार धरान रङ्गशालामा धरान उपमहानगरपालिकाका प्रमुख तिलक राई, उपमेयर मञ्जु भण्डारी, एन्फा प्रदेश १ सचिव नविन राई, पूर्व राष्ट्रिय खेलाडी इन्दु रसाइलीलगायतले संयुक्त रूपमा प्रशिक्षकहरूलाई बल हस्तान्तरण गरी ग्रासरुट ट्रेनिङ क्याम्पको उद्घाटन गर्नुभएको थियो । फुटबल खेलको ग्रासरुट कार्यक्रमले फुटबल खेल बुझ्न र सिक्नको लागि प्रारम्भिक चरणको ज्ञान दिने कार्यक्रमका प्रमुख अतिथि मेयर तिलक राईले बताउनुभयो ।
खेलाडी बन्नको लागि यो ट्रेनिङ महत्वपूर्ण रहेको प्रशिक्षकहरुले बताएका छन् । ग्रासरुट ट्रेनिङ क्याम्पले फुटबल खेलको विकाससँगै धरान खेलाडी उत्पादनका लागि महत्वपूर्ण भूमिका हुने कार्यक्रमका विशेष अतिथि उपमेयर मञ्जु भण्डारीले बताउनुभयो ।
प्रशिक्षणको पहिलो दिन १२ वर्ष मुनिका करिब एक सय १५ जना बालबालिकाले सहभागिता जनाएका छन् । उनीहरूलाई ग्रासरुटका प्रदेश १ का पूर्व मुख्य प्रशिक्षक श्याम मानन्धर र धरान उपमहानगरपालिकाका फुटबल प्रशिक्षक अर्जुन राईले प्रशिक्षण दिनुभयो ।
हरेक शनिबार धरान १६ स्थित रङ्गशालामा हुने ग्रासरुट कार्यक्रमको संयोजन गोधुली क्लब धरानका उपाध्यक्ष सतिस केसीले गर्नुहुनेछ ।