दमक । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापाको कमल गाउँपालिकामा बन्ने भनिएको रंगशाला नामकै विवाद कारण नबन्ने भएको छ ।
कमल गाउँपालिका–५ स्थित सशस्त्र प्रहरीले भोगचलन गरेको स्थानमा सरकारले अन्तराष्ट्रिय स्तरको रङ्गशाला बनाउने योजना अगाडि बढाएकोमा अहिलेसम्म काम अगाडि नबढेको हो ।
आदिवासी जनजातिहरूको समाधिस्थल रहेको सो स्थानमा समाधी भत्काएर रंगशाला बनाउँदा आदिवासी रङ्गशाला नामाकरण गर्ने सहमति भएको थियो । त्यसअनुसार तत्कालीन रक्षामन्त्री विद्यादेवी भण्डारीले शिलान्यास गरेको रंगशालाको नाम ओली पहिलो पटक प्रधानमन्त्री हुँदा मदन भण्डारी नामाकरण गर्ने प्रयास भएपछि विवाद बढेको हो ।
२०७५ फागुन २५ गते कमल र दमक नगरपालिकाका जनप्रतिनिधि, प्रदेश सांसद्सहित विवाद समाधान पहल समितिका संयोजक देवेन्द्र दाहाल, आदिवासी जनजातिका तर्फबाट हुकुमसिंह राई, दिलीप राई, अक्कलबहादुर गुरुङ, नित्यानन्द ताजपुरियालगायतको उपस्थितमा भएको छलफलले विवाद मिलाएको थियो । रङ्गशालाको पूर्वपट्टि आदिवासी जनजाति स्मृति पार्क निर्माण गर्ने सहमति थियो । तर, सहमति कार्यान्वयन नगरि मदन भण्डारीकै नाम राख्नुपर्ने अडान ओली र निकट नेताहरुले लिएपछि काम अगाडि बढ्न नसकेको हो ।
कमलमा रंगशालाको काम अगाडि नबढेपछि दमक नगरपालिका–३ स्थित दुम्सेमा मदन भण्डारी रङ्गशाला बनाउने घोषणा ओली सरकारले गरेको छ । मन्त्रिपरिषद्को बैठकले हम्से दुम्से सामुदायिक वनको २७ हेक्टर क्षेत्रफलमा मदन भण्डारी रङ्गशाला निर्माण गर्ने निर्णय गरेको छ ।
जसको लागि हम्से–दुम्से सामुदायिक वनको १ हजार ९ सय २४ वटा रुखबिरुवा काटेर जमिन उपलब्ध गराउने निर्णय सरकारले गरेको छ । कमलमा रुख काटेर रंगशाला निर्माणको लागि जमिन सम्याउने कामसमेत भइसकेको अवस्थामा फेरि जंगल फाँडेर रंगशाला निर्माणको तयारी भएको भन्दै विरोध भइरहेको छ ।