उर्लाबारीका प्रविण हत्या प्रकरण : घरबेटी गिरी पक्राउ

विराटनगर । मोरङको उर्लाबारीका प्रविण बाँस्तोला हत्या प्रकरणमा थप एक जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । यस घटनामा प्रहरीले घरधनी उर्लाबारीका रमेश गिरीलाई पक्राउ गरेको हो । प्रहरीले उनलाई आज ११ बजे मोरङ अदालत उपस्थित गराउने मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए ।

प्रविणको हत्या भएको रात उर्लाबारी नगरपालिका–७ का रमेश गिरीको घरमा रहेको साथीको डेरामा उनी सुतेका थिए । पुस ४ मा मदिराको नशामा साथीहरूसँगै सुतेका प्रविण विहान अचेत अवस्थामा भेटिएपछि अस्पताल लगिएको थियो । स्थानिय गोदावरी अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

मृत्यु भएको दिन प्रविण आफ्ना साथी सुदिप परियार, मेहरमान दर्जी र दीलिप पौडेलको डेरामा सुतेका थिए । त्यहाँ ३१ वर्षीय राजेश रणपहेली पनि सँगै थिए ।

प्रविण बास्तोलाको हत्या आरोपमा पक्राउ परेका दुई जना मध्ये एक जनालाई मोरङ अदालतले पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको छ । बिहीबार थुनछेक बहसपछि रतुवामाई–१० घर भएका मेहरमान दर्जीलाई जिल्ला अदालत मोरङले थुनामा पठाउने आदेश दिएको हो भने होटल संचालक कुमार राईलाई ३ लाख रुपैयाँ धरौटिमा छोडन मोरङ अदालतका न्यायाधीश सुदर्शन लामिछानेको इजलासले यस्तो आदेश दिएको हो ।

हत्यामा संलग्नमध्ये ३ जना फरार छन् । सरकारी वकिलको कार्यालय गत मंगलबार पक्राउ परेका दुई र त्यसबाहेक चार जनालाई फरार प्रतिवादी बनाएर मोरङ अदालतमा कर्तब्य ज्यान मुद्दामा अभियोग दर्ता गराएको थियो ।

सोमबार, १७ फागुन, २०७७, बिहानको १०:२३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर