विराटनगर । प्रदेश १ सरकारले अघि सारेका विकास आयोजना अघि बढाउने घोषणासहित प्रदेश सरकारको लगानी बोर्ड र नेपाल इन्फास्ट्रक्चर बैंक निफ्राबीच मंगलबार सम्झौता भएको छ ।
विराटनगरस्थित मुख्यमन्त्री कार्यालयमा आयोजित कार्यक्रममा यस्तो सहमति भएको हो । समझादारी पत्रमा प्रदेश सरकारले बनाएको सार्वजनकि निजी साझेदारी तथा लगानी प्राधिकरणका निर्देशक डा. सरोज कोइराला र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले हस्ताक्षर गरेका छन् ।
सरकारी प्राधिकरण र बैकबीचको सम्झौता अनुसार सार्वजनिक निजी साझेदारीको माध्यमबाट प्रदेश १ को पूर्वाधार क्षेत्रको विकासका लागि परियोजना विकास गर्ने, कार्यान्वयनको चरणमा वित्तीय तथा प्राविधिक सहकार्य हुनेछ । मुख्यमन्त्री शेरधन राई, प्रदेश योजना आयोगका उपाध्यक्ष सुबोध प्याकुरेल लगायतको उपस्थितिमा सम्झौतामा हस्ताक्षर भएको थियो ।