लोड हुँदैछ...

मेनु

अर्को विश्वबन्धु वा तुलसी गिरी हुँदैछन् देउवा

अर्को विश्वबन्धु वा तुलसी गिरी हुँदैछन् देउवा

मध्यावधि निर्वाचन–२०५१–मा नेपाली काङ्ग्रेस दोस्रो शक्तिका रूपमा स्थापित भयो, पहिलो शक्ति नेकपा एमाले थियो । तत्कालीन प्रतिनिधि सभामा कुनै दलको पनि बहुमत थिएन । यसलाई त्रिशङ्कु संसद् भनिन्थ्यो । यसबिच २०५१ देखि २०५६ सम्मका अवधिमा नेपालमा धेरै प्रकारका धेरै सरकारहरू बने र भत्किए । उत्तर आधुनिक नेपालमा राजनीतिक अस्थिरताको युग २०५१ को मध्यावधिको घोषणाबाट प्रारम्भ भयो । यसको अपजस तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई दिइयो । संसदमा आफ्नो नीति तथा कार्यक्रम पास हुन नसकेपछि संसदीय दलको बैठकमा राजिनामा दिएर काङ्ग्रेसभित्रैबाट अर्को प्रधानमन्त्री चुनेको भए नेपालको राजनीति सत्तालिप्साको आगोमा हिउँझै पग्लिएर बगिरहने पानी हुन पाउँदैनथ्यो । तर त्यस बखतका गिरिजालाई लुई चौधौँको जस्तै म नै राज्य हुँ भन्ने उन्माद र दम्भ थियो । त्यसैले नेपाली काङ्ग्रेसभित्रबाट महेन्द्रनारायण निधी वा अरू कोही प्रधानमन्त्री बन्नु महत्त्वाकांक्षी गिरिजाका लागि स्वीकार्य थिएन । त्यसैले मुलुकलाई मध्यावधिको डढेलोमा होमिदिए ।

गिरिजा बाबु सक्षम रणनीतिकार पनि थिए । उनले २०५६ को निर्वाचनमा अर्को दाउ थापे । २०५६ को आम निर्वाचनअगि उनले भावी प्रधानमन्त्रीका रूपमा कृष्णप्रसाद भट्टराईको नाम प्रस्तुत गरे । गिरिजाप्रसादको भन्दा कृष्णप्रसादको छवि उँचो र बेदाग थियो । फेरि पनि गिरिजाप्रसाद नै प्रधानमन्त्री हुने भनिएको भए २०५६ मा नेपाली काङ्ग्रेसको साधारण बहुमत नआउन पनि सक्थ्यो ।

तर २०५६ को आम निर्वाचनपछि बहुमतमा रहेको नेपाली काङ्ग्रेसभित्र सत्तासङ्घर्ष तीव्र ढङ्गले चल्यो । गिरिजाप्रसाद र सुशील कोइरालाका चालबाजीले प्रधानमन्त्री पदमा किसुनजीलाई एक वर्ष पनि टिक्न दिइएन । यसबिच २०५८ सालमा दरवार हत्याकाण्डपछि नेपालको राजनीति झन् अस्थिर, तरल र अराजक भयो । अर्कातिर विद्रोही नेकपा माओवादीले देशभरि हत्याहिंसाको राजनीतिलाई बढाइरहेको थियो ।

यही बेला राजनीतिको पोखरीमा धमिलो पानी तैरिरहेको देखेर नयाँ राजा ज्ञानेन्द्र सक्रिय राजनीतिमा चाख राख्न थालिसकेका थिए । अझ प्रधानमन्त्रीमा शेरबहादुर देउवाको पुनरोदयपछि त ज्ञानेन्द्रको महत्त्वाकांक्षा र क्रियाकलाप झन् चुलिँदै गयो । प्रधानमन्त्रीका कुर्सीबाट देउवा ज्ञानेन्द्रको स्वार्थअनुकूलमात्र काम गर्न थाले । ज्ञानेन्द्रको प्रतिगमनमा प्रम देउवा सहायक हुन थाले । यसैको परिणाम होे, २०५९ जेठ ८ को मध्यरातमा देउवाले ज्ञानेन्द्रको इच्छाअनुसार प्रतिनिधि सभाको विघटन गरे ।

लोकतान्त्रिक मूल्य, मान्यता, आदर्श, सिद्धान्त र विचारबाट देउवाको यो दोस्रो स्खलन थियो । यसअघि उनी २०४३ सालमै विपिन कोइरालासँगसँगै पञ्चायत प्रवेश गरिसकेका थिए । तर किसुनजीले बेलायती दूतावासलाई अनुनय विनय गरेर देउवालाई छात्रवृत्तिमा पढ्न बेलायत पठाएर देउवालाई पञ्च हुनबाट रोके ।

देउवाको विघटनका विरूद्ध पनि अहिलेकोजस्तै गरी सर्वोच्च अदालतमा मुद्दा पुग्यो । तर त्यति बेलाको सर्वोच्च अदालत दरबारको सेटिङमा थियो । प्रधान न्यायाधीश केशवप्रसाद उपाध्याय थिए र उनी दरबारको सोझो गर्थे । त्यसैले हुनुपर्छ, गिरिजाप्रसाद कोइरालाले भनेका थिए, सर्वोच्च अदालतलाई नारायणहिटीमा लगेर राखिदिनु पर्छ । नभन्दै उपाध्याय नेतृत्वको इजलासले देउवाको विघटनलाई सदर ग¥यो । प्रतिनिधि सभाको पुनःस्थापना भएन ।

तर गिरिजाबाबु ढिट थिए । सर्वोच्चले पुनःस्थापना नगरे पनि उनी पुनःस्थापनको मागलाई केन्द्रमा राखेर आन्दोलनमा उत्रिए । आन्दोलनमा जनउभार आउन ३ वर्ष लाग्यो । गिरिजाको प्रतिनिधि सभाको पुनःस्थापनाको एकसूत्रीय माग आन्दोलनको एक मात्र नारा बन्यो । यसरी सर्वोच्चले विघटनलाई सदर भनेको प्रतिनिधि सभा पनि जनआन्दोलनको बलले ब्यूँतियो । यही घटनाले यसअघिका सबै कलङ्क र अपजसबाट गिरिजाले उन्मुक्ति पाए । माओवादीलाई शान्ति सम्झौतामा ल्याउने देखि १२ बूँदे सम्झौतासम्मले उनलाई हिरो बनायो । गिरिजा एक राजनेतामा स्थापित हुन सके ।

यस्तै मौका आजका शेरबहादुरलाई छ । तर शेरबहादुर यो अवसर र चुनौतीको उपयोग गर्न जानिरहेका र सकिरहेका छैनन् । उनी प्रतिनिधि सभाको पुनःस्थापनाको मागलाई मुखर बनाइरहेका छैनन् । उनी सर्वोच्चले भनेको स्वीकार गर्छु भनेर निम्छरो प्रतिक्रिया दिइरहेका छन् । यति बेला सशक्त आन्दोलनको नेतृत्व गरेर सबैलाई सडकमा पछि लगाउनु पर्ने हो शेरबहादुरले । तर उनका क्रियाकलाप र बोलीवचन हेर्दासुन्दा लाग्छ, उनी खड्गप्रसाद ओलीको प्रतिगमनको मतियार बनिरहेका छन् । सही एजेन्डा र मागमा गरिएको आन्दोलनले कुनै पनि कार्यकर्तालाई नेता र नेतालाई राजनेता बनाउँछ । हरेक नेता र कार्यकर्ता यस्तै एजेन्डा र आन्दोलनको खोजीमा हुन्छन् । तर २०४३ मै झन्डै पञ्च भइसकेका काङ्ग्रेस सभापति देउवासित अब त्यो स्पिरिट छैन । अर्को गिरिजाप्रसाद हुने सौभाग्य उनलाई प्राप्त नभएको होइन तर अर्को विश्वबन्धु वा अर्को तुलसी गिरी भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।