जनता समाजवादी पार्टीको मोरङमा दुई कमिटी

विराटनगर । लामो समयदेखि एकता प्रकृया टुंगो गर्न नसकेको जनता समाजवादी पार्टी मोरङमा विवाद बल्झिएको छ । विवाद समाधान हुन नसकेपछि पूर्व राष्ट्रिय जनता पार्टी र पूर्व संघीय समाजवादी पार्टीले दुई छुट्टाछुट्टै जिल्ला कार्यसमिति गठन गरेका छन् । छुट्टाछुट्टै जिल्ला कमिटी गठन गरेपछि एकता प्रकृया अन्यौलमा परेको हो ।

पूर्व राष्ट्रिय जनता पार्टीका मोरङ जिल्ला अध्यक्ष कादिर अली र समाजवादी पार्टीका जिल्ला अध्यक्ष राजकुमार यादवको नेतृत्वमा छुट्टाछुट्टै जिल्ला कमिटी बिस्तार भएपछि विवाद चुलिएको हो ।

गत माघ २९ गते बसेको पार्टीको जिल्ला समायोजन समितिले राजकुमार यादवको नेतृत्वमा २५ सदस्यीय कार्यकारिणी समिति निमार्ण गरेको थियो । जनता समाजवादी पार्टीका कार्यकारी सदस्य युवराज कार्कीको संयोजकत्वमा केन्द्रले बनाएको ८ सदस्यीय कार्यदलको सर्वसम्मतिबाट यादवले पार्टीको जिल्ला अध्यक्षको जिम्मेवारी प्राप्त गर्नुभएको हो ।

कार्यसमितिमा समानताको आधारमा अध्यक्ष बाहेक पूर्व राजपाबाट १४ र समाजवादी पार्टीबाट १० जना गरि २४ सदस्यहरुलाई चयन गरिएको पार्टीका कार्यकारी सदस्य कार्कीले बताउनुभयो । तर, सो निर्णयलाई अस्वीकार गर्दै शनिबार पूर्व राजपाका सदस्यहरुको बैठकले पुनः जिल्ला अध्यक्ष कादिर अलीको नेतृत्वमा अर्को ५१ सदस्यीय कार्यसमिति निमार्ण गरेको छ । आगामी जिल्ला अधिवेशनसम्म आफु नेतृत्वको जिल्ला कार्यसमिति कायम रहने कादिर समूहले जनाएको छ ।

राजकुमार यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालको जिल्ला कार्यसमिति विधानसम्मत नभएको अर्को समूहले दावी गरेको छ । उनीहरुले जिल्ला अधिवेशनबाट मात्र विवादको टुंगो लाग्ने बताइरहेका छन् ।

राजपाका कतिपय जिल्लाहरुमा पार्टी एकताको काम टुंगो गर्न बाँकी रहेको छ । बाँकी भएका एकताका कामहरु सम्पन्न भएलगतै हुने महाधिवेशनबाट अधिकांश समस्या समाधान हुने पार्टीका कार्यकारी सदस्य युवराज कार्कीले बताउनुभयो ।

केन्द्रमा जनता समाजवादी पार्टीका तीन जना अध्यक्षहरुले पार्टीको नेतृत्व गरिरहेका छन् । पार्टीको विधान अधिवेशनबाट एक जना मात्र अध्यक्ष रहने व्यवस्था गर्ने बताइएको छ ।

शनिबार, ०१ फागुन, २०७७, दिउँसोको ०३:५८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर