लोड हुँदैछ...

मेनु

चौतर्फी विरोधपछि झाँक्री रिहा

चौतर्फी विरोधपछि झाँक्री रिहा

विराटनगर राष्ट्रपतिको आलोचना गरेको आरोपमा राज्य विरुद्धको अपराध गरेको भन्दै पक्राउ गरिएकी नेकपा केन्द्रीय सदस्य रामकुमारी झाँक्री चौतर्फी दबाबपछि रिहा हुनुभएको छ ।

मुलुक अपराध संहिताको दफा ५८ अनुसारको कसुर गरेको आरोप बिहीबार अपरान्ह घरबाटै पक्राउ पर्नुभएकी झाक्रीलाई प्रहरीले साँझ रिहा गरेको हो ।

पक्राउपछि झाक्रीलाई महानगरीय अपराध महाशाखा मिनभवनमा राखिएको थियो । प्रहरीले आफै पक्राउ पुर्जी जारी गर्दै झाँक्रीलाई शंखमूलस्थित उनको निवासबाटै नियन्त्रणमा लिएको थियो ।

झाँकी पक्राउ विरोधमा विभिन्न क्षेत्रबाट चर्को विरोध र सरकारको आलोचना भएको थियो । पक्राउ विरुद्ध युवा विद्यार्थीले अपराह्न माइतीघरदेखि नयाँ बानेश्वर चोकसम्म विरोध प्रदर्शन गरेका थिए । झाँक्रीलाई पक्राउ गर्नु नागरिक स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको हनन् भएको भन्दै विभिन्न राजनीतिक दल र नेताहरूले सरकारको आलोचना गरेका छन् ।

प्रहरी हिरासतबाट रिहाइपछि भएपछि झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीका गतिविधिप्रति आफूले दिएका अभिव्यक्तिमा कुनै पश्चात्ताप नभएको बताउनुभएको छ । अहिलेको लोकतन्त्रिक व्यवस्थाका लागि आफूहरू लडेको र आगामी दिनमा पनि लड्ने भन्दै उहाँले भन्नुभयो, ’लोकतन्त्रको पक्षमा लडिरहेको मान्छे हो म । जसले संविधानको धज्जी उडाउँछ, विधिलाई मान्दैन त्यस्ता प्रवृत्तिको विरुद्ध आज पनि सडकमा छौं ।’

संवैधानिक राष्ट्रपति संस्थाप्रति आफ्नो सधैं सम्मान रहेको र त्यसमा जाने व्यक्तिहरूको आलोचना गर्दा कुनै पश्चात्ताप गर्न नहुने झाँक्रीले बताउनुभयो । ‘संविधानले व्यवस्था गरिएको संवैधानिक पदहरूका प्रति हाम्रो जहिले पनि हाम्रो सम्मान छ । त्यहाँ रहने व्यक्तिहरूका क्रियाकलापका प्रति आलोचना भएको हो’ उहाँले भन्नुभयो, ‘त्यसमा रिग्रेट गर्नुपर्ने कुरा केही पनि छैन ।’

संवैधानिक पदहरूमा पुग्ने पात्रहरूका गतिविधिमाथि प्रश्न गर्नुपर्ने झाँक्रीको भनाइ छ । ‘राष्ट्रपति संस्था हाम्रो आन्दोलन, लडाइँले स्थापित गरेको हो’ उहाँले भन्नुभयो, ‘तर, त्यहाँ पुग्ने पात्रहरूले जे प्रवृत्ति देखाउँछन्, संविधान र कानुनको धज्जी उडाउँछन् तिनका प्रतिको लडाइँमा सडकमा बाँकी छ ।’

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।