लोड हुँदैछ...

मेनु

डाक्टर कुट्ने तरूण नेता धरौटीमा रिहा

डाक्टर कुट्ने तरूण नेता धरौटीमा रिहा

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजका डाक्टरलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका तरूण दल मोरङका कोषाध्यक्ष अनिल रिजाल धरौटीमा छुटेका छन् ।

मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाको इजलासले रिजाललाई बिहीबार १० हजार रुपैयाँ धरौटीमा छोड्न आदेश दिनुभएको हो ।

प्रमुख जिल्ला अधिकारीले तोकेको धरौटी रकम बुझाएपछि रिजाल रिहा भएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत नाक, कान घाँटी रोग विशेष डा.मिनाक्षी बस्नेतलाई कुटपिट गरेको आरोपमा रिजाल पक्राउ परेका थिए ।

रिजालले चिकित्सक बस्नेतलाई पुस १५ गते राति निर्घात कुटपिट गरेको आरोप छ । कुटपिटबाट बस्नेतको औला र सम्बेदनशिल अंगमा चोटपटक लागेको थियो । रिजालले चिकित्सकलाई निर्घात कुटपिट गरेपछि पनि घटना बाहिर लगेमा जागिरबाट हटाउने भन्दै मानसिक यातना दिएकोले बस्नेतले ढिलो मात्र प्रहरीमा जाहेरी दिनुभएको थियो ।

प्रहरीमा जाहेरी परेपछि लामो समयदेखि फरार गरेका रिजाललाई माघ १० गते पक्राउ गरि मोरङ प्रहरीले ‘अभद्र व्यवहारको’ मुद्दामा म्याथ थप गरि अनुसन्धान गर्दै आएको थियो । रिजाल र बस्नेत मिल्ने साथी हुन् । मित्रवत सम्बन्ध हुँदाहुँदै उनीहरुबीच आर्थिक लेनदेनको विवाद हुँदा झगडा भएको बताइएको छ ।

विराटनगरमा थोक विक्रेताको कारोबार गर्दै आएका रिजालले बस्नेतसँग १० लाख रुपैयाँ ऋण लिएका थिए । सापटी लगेको रकम मागेपछि कोठामा पुगेर रिजालले कुटपिट गरेको पीडितले दिएको जाहेरीमा उल्लेख छ ।

पीडितले दिएको जाहेरीको आधारमा प्रहरीले अभद्र व्यवहारको मुद्दामा म्याद थप गरि अनुसन्धान सुरू गरेको थियो । मोरङ प्रहरीले अनुसन्धान पूरा गरि अभियोग बुझाएपछि प्रमुख जिल्ला अधिकारीले धरौटीमा छोड्न आदेश दिनुभएको हो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।