जमिनमुनी भेटियो १८५ राउन्ड गोली

विराटनगर । जमिनमुनि गाडेको अवस्थामा एसएलआर राइफलसमेतका हतियारमा प्रयोग हुने १८५ वटा गोली मोरङको उर्लाबारीमा भेटिएको छ ।

उर्लाबारी नगरपालिका–१ लक्ष्मीझारका दलबहादुर लिम्बूको घरमुनी पुरिएको अवस्थामा बुधबार दिउँसो ७.६२ एमएमको गोली भेटिएको हो ।

लिम्बूको घर भत्काउने क्रममा कामदार ५३ वर्षीय भक्तबहादुर सुवेदीले प्लाष्टिकमा हालेर पुरेको गोली भेटेका हुन् । कालो प्याष्टिकको पोके भेटेपछि खोलेर हेर्दा गोली भेटिएपछि प्रहरीमा खरब पुगेको थियो । इलाका प्रहरी कार्यालय उर्लाबारीको टोलीले गोली नियन्त्रणमा लिएको छ ।

खिया लागेको अवस्थामा भेटिएकोले गोली सशस्त्र द्वन्द्वकालमा लुकाएको प्रहरीको अनुमान छ । जमिनभित्र लुकाएर राखिएको गोली बरामद गरेर घटनाको अनुसन्धान सुरु गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिनुभयो ।

लिम्बूको घरमा उनका भान्जा चन्द्रबहादुर लिम्बू बस्थे । उनी भने परिवारसहित उर्लाबारी बजारमा बस्छन् । चन्द्रबहादुरको १० वर्षअघि नै मृत्यु भइसकेको छ ।

प्रहरीका अनुसार बरामद भएका गोली पड्किने अवस्थाका भने छैनन् । लामो समयदेखि जमिन मुनि गाडेर राखिएका कारण ‘ड्यामेज’ भएर गोली काम नै नलाग्ने अवस्थामा पुगेको देखिएको प्रहरीको भनाइ छ ।

बिहिबार, २२ माघ, २०७७, दिउँसोको १२:४६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर