भनिन्छ, कुलमा एउटै छोरो कुलाङ्गार भएर निस्कियो भने त्यो कुल ध्वस्त हुन बेर लाग्दैन । नेपाली काङ्ग्रेसमा सभापति शेरबहादरको आजको उपस्थिति त्यही कुलाङ्गार छोराको जस्तो छ । किनकि उनका नीति, लाइन र क्रियाकलापले काङ्ग्रेस र सँगसँगै लोकतन्त्र पनि सिध्याउँदैछ । देउवा र उनका अनुयायीले सदा–सर्वदा सम्झनु पर्ने कुरा के हो भने २०१७ सालमा राजा महेन्द्रको ‘कू’–पछि नेपाली काङ्ग्रेसका ७४ मध्ये ६० भन्दा बढी सांसदले महेन्द्रको समर्थन गरे । बीपीलाई सुन्दरीजल कारागारमा राखियो । तर जेलभित्रैबाट बीपीले प्रतिनिधि सभाको पुनःस्थापनाको माग राखे । बीपीलाई थाहा थियो, त्यतिबेला राजाले संसदको पुनःस्थापना गरिदिएका भए बीपी आफैँ अल्पमतमा पर्थे । राजापक्षीय सांसदको बहुमत हुन्थ्यो । तर आदर्शवान् नेता बीपीका लागि आफू अल्पमतमा परिन्छ कि बहुमतमा भन्ने विषय गौण थियो । उनका लागि लोकतान्त्रिक मर्यादा, मर्म र मूल्यको स्थापना मुख्य विषय थिए । लोकसम्मतिको कदर गर्ने कुनै पनि नागरिकले टेक्ने ठाउँ भनेको जनादेश हो । त्यो जनादेश संसदमा प्रतिविम्बित हुन्छ । संसद भनेको जनादेशको मूर्त आकार र स्वरूप हो, हेडक्वार्टर हो । त्यसैले जो जसका पक्षमा भए पनि संसद सञ्चालन हुँदा लोकतान्त्रिक मूल्य, मान्यता र मर्महरू मुच्र्छित हुन सक्तैनन् वा हुन पाउँदैनन् । लोकतन्त्रको मूलघर भनेकै संसद हो । त्यसैले बीपीले जेलभित्रैबाट संसदको पुनः स्थापनाको माग गरे ।
यस घटनाको ४२ वर्षपछि बीपीका भाइ गिरिजाप्रसादले त्यही परम्परा र संस्कारलाई पुनर्जीवन दिए । शेरबहादुरले २०५९ सालको जेठ ८ गते मध्यरातमा प्रतिनिधि सभा तत्कालीन राजा ज्ञानेन्द्रलाई जिम्मा लगाएपछि गिरिजाले पुनःस्थापनाको मुद्दालाई केन्द्रमा राखेर आन्दोलनको नेतृत्व गरे । त्यसबेला धेरै बुद्धिजीवी र राजनीतिज्ञ अनि काङ्ग्रेसभित्रकै रामचन्द्र पौडेलसमेत गिरिजाको प्रतिनिधि पुनःस्थापनाको माग र अडानलाई मजाक र हँस्सीमा उडाउँथे । तर आन्दोलनले गिरिजाको लाइनलाई अनुमोदन ग¥यो । २०६२–६३ सालको आन्दोलन प्रतिनिधि सभाको पुनःस्थापनाकै लागि गरियो । अन्ततः राजा ज्ञानेन्द्र घूँडा टेक्न बाध्य भए । पुनःस्थापना भएरै छाड्यो ।
आजका शेरबहादुरले तिनै बीपी र गिरिजाको लाइनलाई अनुशरण गर्नुपर्ने हो । तर दुर्भाग्य, नेपाली काङ्ग्रेस केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री खड्ग ओलीले गरेको प्रतिनिधि सभाको विघटनलाई गैर संवैधानिक भने पनि पुनःस्थापनाका लागि चूँसम्म बोलेको छैन । यो सिङ्गै काङ्ग्रेसका लागि मात्र नभई देशकै लागि दुर्भाग्य र दुःखको विषय हो । खासमा देउवाले काङ्ग्रेसको परम्परा र आदर्शलाई तिलाञ्जली दिएका छन् । उनी काङ्ग्रेसको मर्म होइन ओलीको कर्ममा लोभिएका छन् । ओलीले उनलाई प्रधानमन्त्री पदको लड्डू देखाएका छन् । त्यसैले होला काङ्ग्रेसका एक युवा नेताले देउवालाई लड्डू काङ्ग्रेस भनेर सम्बोधन गरिसकेका छन् ।
ओलीको ललिपपमा भुलिएका शेरबहादुरलाई प्रतिनिधिसभाको पुनःस्थापना स्वीकार्य छैन । ओलीको विघटनको कदमलाई असंवैधानिक भनेर निर्णय गरेका देउवाले पुनःस्थापनाको माग गर्न नसक्नु उनको कायरता हो । ओलीको मिठाइमा देउवा भुलिएका छन् । त्यतिमात्र होइन, उनले समस्त काङ्ग्रेस पार्टीको निष्ठा, समर्पण र त्यागको इतिहासलाई पोलेर खाएका छन् ।
शेरबहादुरले बुद्धि पु¥याएका भए, उनी आजको समयले मागेको एकछत्र नेता हुनसक्थे । २०६२–६३ मा गिरिजाले गरेझैँ समग्र क्रान्ति र परिवर्तनको नेतृत्व लिनसक्थे । कुनै पनि नेतालाई राजनेता बनाउने मेसिन भनेको क्रान्तिको नेतृत्व हो । गणेशमान २०४६ को आन्दोलनले सर्वोच्च नेता भए । २०६२–६३ को आन्दोलनको सफलतापछि गिरिजाको राजनीतिक उचाइ सगरमाथाको टुप्पामा पुग्यो । गणेशमान र गिरिजाका अगाडि बाउन्ने शेरबहादुर पनि अर्को वामन अवतार हुनसक्थे तर यसका लागि उनले प्रतिनिधि सभाको पुनःस्थापनाको माग भनेर स्पष्ट बोल्नु र यसका लागि सडकमा उत्रनु जरुरी छ ।
देउवाको पार्टी नेपाली काङ्ग्रेसले विभिन्न समयमा विभिन्न रणनीति र कार्यनीतिहरू अपनाइरह्यो । कहिले जेल, कहिले प्रवास, कहिले सशस्त्र विद्रोह, कहिले राष्ट्रिय एकता र मेलमिलाप, कहिले राजालाई बिन्तीपत्रको आन्दोलन, कहिले पञ्चायतको आउटपोस्ट कब्जा गर्ने भन्दै २०४४ सालमा नगरपञ्चायत र गाउँपञ्चायतको निर्वाचनमा सहभागिता लगायतका धेरै रणनीति र कार्यनीति यस पार्टीले विगतमा अख्तियार गरेको देखिन्छ । तर जुनजुन नीति अपनाए पनि काङ्ग्रेसले प्रजातन्त्रप्रतिको निष्ठा, समर्पण र अडानलाई कहिल्यै झुक्न दिएन । तर आज शेरबकादुरको कृत्यले काङ्ग्रेसजनको उँचो शिर निहुरिएको छ । चौडा छातीमा लम्पसार पर्दाका धूलोहरू टाँस्सिएका छन् । बरु राजाको गोली खाने तर आत्मसमर्पण नगर्ने राजनीतिक दल नेपाली काङ्ग्रेस आज ओलीका पाउमा विसर्जित भइरहेको छ ।
काङ्ग्रेस सभापति देउवाको विसर्जनवादी शैलीका विरूद्ध रामचन्द्र पौडेल, कृष्ण सिटौला, डाक्टर शशाङ्क, डाक्टर शेखर, डाक्टर रामशरण, प्रकाशमान, गगन लगायतका नेता त उत्रिएका देखिन्छन् । तर उनीहरू पनि केन्द्रीय समितिको माइन्युट बुकमा प्रतिनिधि सभाको पुनःस्थापनाको मागलाई अभिलेखीकरण गर्न समर्थ नदेखिनुले नेपाली काङ्ग्रेसको मूल प्रवाह यति बेला छायामा छ, निरीह छ र कमजोर छ भन्नु अत्युक्ति हुनेछैन ।


























1 प्रतिक्रिया
1 प्रतिक्रिया
MCC जसरी पनि पास गराउने कुरा मा देउवा र ओली मतियार हुन ।
प्रतिक्रियाहरू बन्द छन्।