सरकारी मापदण्ड थाहा नहुँदा सीमामा विरोध

विराटनगर । सीमाबाट आवागमन गर्ने प्रोटोकोलबारे अनविज्ञ हुँदा विराटनगरस्थित रानी भन्सारमा स्थानीयले प्रर्दशन गरेका छन् ।

युथ युनिटी अफ नेपाल नामक सामाजिक संस्थाका युवा र आसपासका स्थानीयले आईतबार रानी नाकामा विरोध प्रर्दशन गरेका हुन् । स्थानीयले विगतमा जस्तै घरायसी किनमेल, आफन्त भेटघाट, औषधी उपचार र घुमफिरका लागी सीमानाका स्वतन्त्र छोडिनुपर्ने मागसहित विरोध गरेको स्थानीयले बताएका छन् । सहज रुपमा आवागमन गर्न पाएका छैनौं, स्थानीय तनवीर खानले भन्नुभयो, ‘जोगबनी जाउँ भनेको, प्रहरीले गेट क्रस गर्नै दिएन ।’

गत माघ १५ गते बसेको मन्त्रिपरिषदको बैठकले कोरोना महामारीको रोकथाम तथा न्यूनीकरणका चैत्र ११ देखि बन्द गरिएको अन्तराष्ट्रिय सीमा नाकाहरु माघ १६ देखि आवश्यक शर्तसहित खुुल्ला गर्ने निर्णय गरेको थियो । शुक्रबार मन्त्रिपरिषदको निर्णय कार्यान्वयन गर्दै गृह मन्त्रालयले विराटनगरको रानी भन्सारसहित भारत र चीनसँग सीमा जोडिएका देशभरिका ३० वटा नाकाहरु आवश्यक प्राटोकलसहित खुल्ला गरेको छ ।

नेपाल फर्किन चाहने भारत र चीनमा रहेका नेपालीहरुको हकमा मन्त्रालयले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को वेबसाईटमा राखिएको अनलाईन फर्म भरेपछि प्राप्त हुने बारकोड सहितको प्रवेशआज्ञा पत्र देखाएर सम्बन्धित भन्सारबाट आम नागरिकले प्रवेश पाउने व्यवस्था गरेको छ । सरकारले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर आवश्यक प्रोटोकोलसहित नाका खुल्ला गरेपनि पुर्ण रुपमा नाका खुलेको बुझेका स्थानीयले आईतबार रानी नाकामा विरोध जनाएका हुन ।

जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले सरकारले सीमानाका पुर्ण रुपमा खुुल्ला गरेको नभई नेपाल प्रवेश गर्न चाहने नेपालीहरुको हकमा भने सहजीकरण मात्र गरेको बताउनुभयो । उहाँले भारत जान चाहने नेपालीहरुको हकमा भने कुनै रोकटोक नभएको स्पष्ट पार्नुभयो ।

सीमानाकाबाट आवतजावत गर्ने नेपाली नागरिकहरुको हकमा भने सरकारले आवश्यक रेकर्ड राखेर स्वास्थ्य परीक्षणपछि मात्र नेपाल भित्रिन दिने व्यवस्था मिलाएको छ । तर स्थानीयहरुको बुझाईको अभावमा आईतबार सीमामा तनाव उत्पन्न भएको हो । सरकारले भारतीय नागरिकहरुको हकमा भने गृह मन्त्रालयसँग स्वीकृति लिएर मात्रै नेपाल प्रवेश दिने व्यवस्था मिलाएको जनाएको छ ।

आइतबार, १८ माघ, २०७७, दिउँसोको ०४:०८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर