विराटनगर । इलाका प्रहरी कार्यालय रानीको नयाँ भवन सोमबार उद्घाटन भएको छ । कुल ५ करोड ८६ लाख रुपैँया लागतमा निर्माण सम्पन्न भएको भवन सोमबार प्रहरी अतिरिक्त महानिरीक्षक प्रद्युम्न कार्कीले उद्घाटन गर्नुभएको हो ।
भवन उद्घाटनसँगै इलाका प्रहरी कार्यालयको दैनिक कामकाज नयाँ भवनबाटै सुरु गरिएको छ । प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले भवनको कार्यकक्षहरु र थुनुवा कक्षको निरीक्षणसमेत गर्नुभयो ।
प्रहरीको नयाँ भवन बेलायत सरकारको आर्थिक सहयोगमा निर्माण भएको हो । प्रहरी प्रधान कार्यालयको सहयोगमाा २०७६ साल असारमा भवनको शिलान्यास गरीएको थियो । नव निर्मित भवनमा महिला, बालबालिका तथा जेष्ठ नागरिकहरुको लागी सहजै पहुच हुने किसिमको संरचना र व्यवस्थित थुनुवा कक्षको व्यवस्था गरिएको छ । नयाँ भवनबाट प्रहरीले सेवाग्राहीलाई प्रदान गर्ने सेवा सुविधाको लागी अत्यन्तै सहज हुने प्रदेश नम्बर १ का प्रहरी प्रमुख डिआईजी ईश्वर बाबु कार्कीले बताउनुभयो ।
यस्तै नयाँ भवनबाट सेवा प्रवाह भएपछि कर्मचारीहरु उत्प्रेरित भएको र त्यसले सेवा प्रवाहलाई प्रभावकारी बनाउने विश्वास आफुले लिएको मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले बताउनुभयो ।
प्रहरी भवन बनेपछि स्थानीयबासी, जनप्रतिनिधिहरु र सेवाग्राहीसमेत खुसी भएका छन् । उनीहरुले दुई देशबीचको सीमा क्षेत्रमा रहेको सरकारी कार्यालयहरुको जीर्ण अवस्थाले छिमेकी मुलुकमासमेत नकारात्मक सन्देश जाने गरेकोमा नयाँ र आधुनिक भवनले मुलुकको विकास प्रदर्शित हुने स्थानीय जनप्रतिनिधि अस्लाम आलमले बताउनुभयो ।
उद्धघाटन समारोहमा मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौला तथा प्रहरी अधिकारीहरुको सहभागिता रहेको थियो ।