लोड हुँदैछ...

मेनु

स्याङ्जाका साहित्यकार समीरलाई सुदीश निरौला पुरस्कार

स्याङ्जाका साहित्यकार समीरलाई सुदीश निरौला पुरस्कार

विराटनगर । पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरले हरेक वर्ष समर्र्पण गर्दै आएको ‘सुदीश निरौला स्मृति साहित्य पुरस्कार’ स्याङ्जाका युवा साहित्यकार मिलन समीरलाई प्रदान गरिएको छ ।

शनिबार विराटनगरमा आयोजित कार्यक्रममा पूर्वअर्थमन्त्रीसमेत रहनुभएका वरिष्ठ कवि एवं गीतकार एसपी कोइराला, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति डा. विष्णुविभू घिमिरे, आयोजक संस्थाका अध्यक्षसमेत रहनुभएका प्राज्ञ विवश पोखरेल, प्राज्ञ गंगा सुवेदी, सुदीश निरौलाकी माता टीका निरौलालगायत दोसल्ला ओढाएर नगद १५ हजार रुपैयाँ र सम्मानपत्र समर्पण गर्नुभएको थियो । पुरस्कृत युवा साहित्यकार समीर विगत दुई दशकदेखि साहित्य सिर्जनामा सक्रिय हुनुहुन्छ ।

बहुमुखी प्रतिभाका धनी सुदीशको सवारी दुर्घटनामा निधन भएपछि आमा टीका र बुवा गोविन्दले प्रतिष्ठानमार्फत वितरण गर्ने गरी पुरस्कार स्थापना गर्नुभएको हो । हरेक वर्ष एकजना सक्रिय युवा साहित्यकारलाई सो पुरस्कार समर्पण गरिने प्रतिष्ठानका सचिव मीनकुमार नवोदितले जानकारी दिनुभयो । उहाँका अनुसार यसअघि सो पुरस्कारबाट युवा साहित्यकार महेश पौड्याल र सोझो गाउँले पुरस्कृत भइसक्नुभएको छ ।

कार्यक्रममा भूषण ढुंगेल, गोकुल अधिकारी, भरत गुरागाईं बर्बरिक, चूडामणि नेपाल ‘अकिञ्चन’, मञ्जुश्री गिरी, उमेश लुइँटेल, हरि कट्टेल, लक्ष्मी श्रेष्ठ, ममता मृदुल, प्रयाग न्यौपाने, सविना श्रेष्ठल, रोमा निरौला, लक्ष्मी आचार्य, कविता केशरी, जमुना पौडेल, लक्ष्मी रायमाझीलगायत दुई दर्जनभन्दा बढी स्रष्टाले आ–आफ्ना मुक्तक वाचन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।