यसरी पक्राउ परे शिक्षकको हत्यामा संलग्न

विराटनगर । मोरङको मिक्लाजुङ गाउँपालिका १ बर्खेस्थित सरस्वती आधरभूत विद्यालयका प्रधानाध्यापकको हत्यामा संलग्न रहेको आरोपमा नेत्रविक्रम चन्ल विप्लप नेतृत्वको नेकपाका मोरङ इञ्चार्ज पक्राउ परेका छन् ।

प्रधानध्यापक राजेन्द्र श्रेष्ठको हत्या आरोपमा मोरङ प्रहरीले विप्लब समूहका मोरङ इन्चार्ज डि.बि सिलवाल भनिने धनबहादुर बिकलाई पेस्तोलसहित पक्राउ गरेको हो ।

संखुवासभाको मादी नगरपालिका ४ ओखरबोटे घर भएका ३२ वर्षीय बिकलाई मोरङको बुढीगंगा गाउँपालिका ४ निमुवाबाट बुधबार साँझ पक्राउ गरेको मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिनुभयो । एसपी खड्का अनुसार पक्राउ परका विक गत मंसिर २३ गते मिक्लाजुङ गाउँपालिका १ बर्खेका प्रधानध्यापक श्रेष्ठको हत्यामा संलग्न हुन् ।

श्रेष्ठको घाँटी रेटेर जंगलमा हत्या गरिएको थियो । ‘शिक्षक श्रेष्ठ हत्या गर्न बिकले आदेश दिएको र घटनामा पनि संलग्न रहेको प्रारम्भिक चरणको अनुसन्धानबाट खुलेको छ,’ एसपी खड्काले भन्नुभयो, ‘शिक्षक श्रेष्ठलाई घरबाट लैजाँदा ६ जनाको समूहमा बिक पनि सहभागी भएको खुलेको छ ।’

हत्याको घटना अनुसन्धान सिलसिलामा प्रहरीले विक संलग्न रहेको यसअघि नै पहिचान गरेको जनाएको छ । हत्यामा संलग्नको खोजी गर्ने क्रममा प्रहरीले शिक्षक श्रेष्ठको हत्या भएको ढेड महिनापछि एक पक्राउ गरेको हो । ‘मृतकको शव सनाखत गर्ने क्रममा शिक्षकलाई घरबाट अपहरण गरी लैजाँदा पक्राउ परेका बिक रहेको खुलेको हो,’ एसपी खड्काले भन्नुभयो, ‘शिक्षक हत्यामा संलग्न अरूको पनि खोजी कार्य तीव्र बनाएको छ ।’

घटनामा संलग्न अरु पनि पक्राउ पर्ने प्रहरीले जनाएको छ । ‘हामीले घटनाको विस्तृत अनुसन्धान गर्दै आएका छौं,’ एसपी खड्काले भन्नुभयो, ‘घटनामा संलग्न सबैलाई पक्राउ गरि कारवाहीको दायारमा ल्याउनछौं ।’

मंसिर २३ गते घरबाटै अपहरणमा परेका शिक्षकको घरबाट केही परको जंगलमा हत्या भएको थियो । हत्यापछि उनको परिवार बिस्थापित भएको छ । मिक्लाजुङ क्षेत्रको सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयक्त टोली परिचालन भएको छ ।

यसरी पक्राउ परे बिक
विप्लव समूहले विराटनगरका व्यापारीसँग चन्दा मागेर हैरानी दिएको सूचना मोरङ प्रहरीमा पुगेको थियोे । मोरङ प्रहरीले चन्दा माग्ने विप्लव समूहका कार्यकर्ता पक्राउ गर्न टिम बनाएर ‘क्राइम अप्रेसन’ चलाएकोमा बिक पक्राउ परेका हुन् ।

बुढीगंगा ४ निमुवामा आएर व्यावासीहरूसँग चन्दा माग्दै गरेको जानकारी पाएपछि मोरङ प्रहरीबाट खटिएको टोलीले बिकलाई पक्राउ गरेको हो । ‘चन्दा माग्दै धम्की दिने गरेको सूचना आएपछि सतर्कता अपनाएका थियौं’ एसपी खड्काले भन्नुभयो, ‘शंकास्पद व्यक्तिले सुरूमा नाम र थर ढाँटेका थिए । सोधीखोजी गर्दा बास्तविक र नाम र थर खुलेपछि शिक्षक श्रेष्ठको हत्यामा संलग्न रहेको खुल्यो ।’

पक्राउ परेका बिकले विप्लव समूहको इञ्चार्जको जिम्मेवारी पाएको भने दुई साता मात्र भएको पाइएको छ । शिक्षकको हत्या गर्दा उनी सो पार्टीको मेची–कोशी अञ्चलको कार्यालय सचिबको जिम्मेवारी पाएका थिए । विप्लव समूहको केही दिन अगाडि सिन्धुलीमा भएको भेलापछि बिकले मोरङ इन्चार्जको जिम्मेवारी पाएर मोरङमा आएको र ब्यापारीलाई धाकधम्की दिँदै चन्दा असुली गरेको प्रहरीको भनाइ छ ।

प्रहरीले उनको साथबाट तीनवटा मोबाइलमा प्रयोग भएको अवस्थामा ६ वटा सिम र पर्समा बोकेको अवस्थामा ५ वटा सिम बरामद गरेको छ । प्रहरीले विक सवार को २४ प ४००५ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ ।

शिक्षक श्रेष्ठको हत्यामा संलग्न विप्लव कार्यकर्ता कसैलाई पनि प्रहरीले यसअघि फेला पार्न सकेको थिएन । शिक्षक श्रेष्ठलाई ६ जनाको समूहमा आएको विप्लव माओवादीको समूहले अपहरण गरी जंगलमा लगेर हत्या गरेको थियो ।

पक्राउ परेका बिकलाई प्रहरीले अहिले हातहतियार खरखजना अन्तर्गत म्याद थप गरि अनुसन्धान सुरु गरेको छ । ‘पेस्तोलसहित पक्राउ परेकोले अहिले हातहतियार खरखजनामा म्याद थप गरि अनुसन्धान सुरु गरिएको हो,’ एसपी खड्काले भन्नुभयो, ‘पछि कर्तब्य ज्यान मुद्दामा पनि छुट्टै अनुसन्धान सुरु गरिनेछ ।’

शुक्रबार, ०९ माघ, २०७७, बिहानको १०:३५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर