चेतन शर्मा
नेपालीमा एउटा आहान छ ‘हगनको बेला लगन’ । यसै आहानलाई आधार बनाएर विभिन्न टुक्का तथा कथाहरु जोडिने गरेको छ । सरकारको काममा व्यंग्य गर्दै हास्य कलाकार मनोज गजुरेलले सामाजिक संजालमा केही समयअगाडि लेखेका थिए । ‘हगनको बेला लगन, जुराउन खोज्दा…. बेहुला बेपत्ता, बेहुली गायब ! सम्धी सिलित्त, जन्ती पिलित्त !!’
यसको अर्थ हामी जसरी पनि बुझ्न सक्छौं । धेरै आपत परेको बेला, सानोतिनो कुरामा अल्झिनु । दौडिरहेको मानिसलाई सानो त्यान्द्रोले अल्झाएर लडाउनु, जन्ती जाने बेलामा पिसाव लाग्नु, दशैंमा टिका लगाउन धेरै ठाउँ जानुपर्ने ठाउँमा पचहत्तरले भेट्नु । एउटा महत्वपूर्ण काम गर्नुपर्ने बेलामा अर्कै सानोतिनो काममा अल्झिनु पनि ‘हगनको बेलामा लगन’ भनेजस्तै नै हो । यहाँ प्रसंग प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई जोडौं । ४९ वर्षसम्म लगन नजुरेको हाम्रा मुख्यमन्त्रीलाई यही बेला विवाहको लगन जुर्यो । यही बेला मुख्यमन्त्री राई विरुद्ध संसदमा अविश्वासको प्रस्ताव दर्ता भयो ।
यही बेला उनै राई नेतृत्वको मन्त्रिपरिषद् बैठकले संसद बैठक आव्हान गर्ने निर्णय गर्यो । सोही निर्णय अनुसार आज (बुधबार) प्रदेश १ को प्रदेशसभा बैठक बस्दैछ । प्रदेशसभामा मुख्यमन्त्री विरुद्धको अविश्वासको प्रस्तावको कसरी सामना गर्ने ? यसलाई कसरी फेल बनाउने ? अर्को समूहका सांसदहरुलाई कुन होटलमा बोलाएर के खुवाएर फकाउने ? हस्ताक्षर फिर्ता लिएकाहरूलाई कसरी आफ्नै लाइनमा अड्याइरहने ? कांग्रेसलाई फकाएर कसरी अविश्वासको प्रस्ताव फेल बनाउने ? साना दलको भूमिका के होला ? उनीहरुलाई कसरी फकाउने ? केन्द्रको राजनीति कता जान्छ, त्यसमा कसरी भूमिका खेल्ने भन्ने विषयमा हाम्रा मुख्यमन्त्रीलाई तनावको विषय कति होला ? हो, यस्तै बेलामा फेरि मुख्यमन्त्रीका लागि अर्को जीवनकै महत्वपूर्ण काम आइलागेको छ ‘विवाह’ ।
विवाह गर्ने भनेर मिति नै माघ ११ गतेलाई तोकिसकिएको सन्दर्भमा मुख्यमन्त्रीले त्यस दिनको लागि आवश्यक तयारी र व्यवस्था गर्नुपर्ने तनाव पनि होला नै । मुख्यमन्त्री भएका मानिसलाई अरुले नै सबै व्यवस्थापन गरिदेलान् पनि । तर, त्यो त पर्याप्त हुँदैन । नवदुलहीले कुरा गर्न खोज्लिन् । दुलहीका लागि गरगहना र श्रृंगारका सामाग्रीहरू कस्ता खरिद गर्ने ? भन्ने विषयमा पनि कुरा गर्ने चाहना राख्लिन् ।
राईले आफू मुख्यमन्त्री हुनुभन्दा अगाडि मुख्यमन्त्री भएपछि विवाह गर्छु, मुख्यमन्त्री भएपछि प्रदेशको नामाकरण गर्छु भनेका थिए । त्यसमध्ये धेरैले सोध्ने प्रश्नको उत्तर भने ११ गते विवाह गरेरै मुख्यमन्त्रीले दिने भएका छन् । तर, प्रदेशको नामाकरणको विषय भने अझै थाँती रहने देखिन्छ । प्रदेशको नामाकरणको विषय त्यति छिट्टै निर्णय गरिहाल्नुपर्ने दबाब नभएपनि मुख्यमन्त्रीको लागि अविश्वासको प्रस्ताव पास÷फेलको तनाबका बिच हुन लागेको शुभविवाह भने उही नेपाली आहान जस्तै ‘हगनको बेला लगन’ चाहिं कसैले पनि नभनिदिए हुने थियो ।