विराटनगर । दादा भत्ता नदिएको भन्दै बीएनडी कन्ट्रक्सन प्रालिको स्कारपीय गाडी मोरङको मिक्लाजुङका स्थानीय युवाको समूहले तोडफोड गरेको छ ।
खोला ठेक्का लिएको कम्पनीले ‘दादा भत्ता’ नदिएपछि शुक्रबार राति गाडी तोडफोड गरेको उजुरी प्रहरीमा दिएको छ ।
मिक्लाजुङ गाउँपालिका घर भएका दिपेश मगर, जोसन श्रेष्ठलगायतका एक दर्जन बढी युवाको समूहले बीएनडी कन्ट्रक्सनको नाममा रहेको प्रदेश १–०२००२ च ४१९७ नम्बरको सेतो स्कारपियो गाडी तोडफोड गरेका हुन् । त्यसबारे कम्पनीले किटानी जाहेरी दिएको इलाका प्रहरी कार्यालय उर्लाबारी प्रमुख प्रहरी निरीक्षक उद्धव पोखरेले जानकारी दिनुभयो ।
श्रेष्ठ र मगरको समूहले बीएनडी कन्ट्रक्सनका सञ्चालक भुपाल श्रेष्ठसँग खोला ठेक्का पाएपछि पैसा माग्दै आएका थिए । कम्पनीले मिक्लाजुङको गाउँपालिकाको बोक्रा, मिक्लु, सोल्टी, तेलीलगायतका आधा दर्जन बढी खोलाहरू करिब साढे ९ करोड रुपैयाँमा ठेक्का पाएको थियो । ‘गाउँपालिकाबाट ठेक्का पाएर काम सुरू भएपछि स्थानिय केही युवाहरूको समूहले काममा अवरोध सृजना खोज्दै आएका थिए,’ श्रेष्ठले भन्नुभयो, ‘रातको समयमा पार्किङ्ग गरि राखिएको गाडी र काम गर्ने केटाहरूमाथि हातपात भयो ।’ मदिरा सेवन गरि आक्रमण गरेको बुझिएको छ ।
कन्ट्रक्सनमा काम गर्नेहरू मिक्लाजुङ्ग गाउँपालिका ९ मधुमल्ला बजारस्थित टिकाराम गिरीको घरको भुइ तलाको तीन वटा कोठा भाडामा लिएर बस्दै आएका थिए । गिरीको घरमा कन्ट्रक्सनमा काम गर्ने ६ जना बस्दै आएका छन् । कन्ट्रक्सनको काम गर्ने इन्चार्ज कानेपोखरी गाउँपालिका राजकुमार याख्खा हुन् ।
‘याख्खासँग स्थानीय युवाहरूको विवाद भएपछि उनलाई लिन कानेपोखरीदेखि स्कारपियो गाडी मधुमल्ला बजारमा डेरामा पठाएको थिएँ,’ कम्पनीका सञ्चालक श्रेष्ठले भन्नुभयो, ‘गाडी पुग्नसाथ युवाको समूहले आक्रमण गरि अगाडीको सिसा तोडफोड गरिदिए ।’ कम्पनीका भोजराज श्रेष्ठ सामान्य घाइते भएको बुझिएको छ ।
युवाको समूहले कन्ट्रक्सनमा काम गर्नेहरू कोठामा बस्ने गिरीको घरको झ्यालको सिसा पनि तोडफोड गरेका छन् । तोडफोडमा संलग्नहरू फरार रहेको प्रहरीले जनाएको छ । उनीहरूलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।