चिसो बढेपछि जनजीवन प्रभावित

विराटनगर । तीन दिनदेखि पूर्वी तराईमा चिसो बढेको छ । शितलहरसँगै हुस्सुले विहानीपख आकाश ढाकिएको कारण जनजीवन पनि प्रभावित भएको छ ।

मौषम पुर्वानुमान महाशाखाका अनुसार देशभरको तराईका धेरै जसो स्थानहरुमा हुस्सु, कुहिरो लागेको छ । दिनभरी नै लाग्ने हुस्सु र कुहिराका कारण घाम लाग्न नसकेपछि बढेको चिसोले तराईको जनजीवन कष्टकर बनेको हो ।

जल तथा मौषम विज्ञान कार्यालयका धरानका सहायक मौषमविद् एपि औचासियाका अनुसार विराटनगरको मंगलबारको तापक्रम न्युनतम ७ डिग्रि सेल्सियसमा झरेको छ । शितलहर तराईको मौषमी गतिविधि हो ।

चौरासियाका अनुसार यो समयमा नेपाल पृथ्वीको उत्तरी गोलार्धमा पर्ने र यो हिउँदको समयमा सुर्यको किरण दक्षिणी गोलार्धमा पर्ने भएकोले उत्तरी गोलार्धमा चिसो तथा जाडोयाम हुनेगर्छ । चिसो बढेसँगै बालबालिका तथा वृद्धवृद्धाहरुलाई जोखिम पनि बढ्ने चिकित्सकहरु बताउँछन् । उनीहरुलाई चिसोबाट जोगाउनुपर्ने वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका स्कूल अफ पब्लिक हेल्थ एण्ड कम्युनिटी मेडिसिनका एसोसिएट प्रोफेसर डा.विजय खनालको सुझाव छ ।
स्वास्थ्यको दृष्टिकोणले १० बर्ष मुनिका बालबालिका र ६० बर्ष माथिकालाई चिसोबाट जोगाउन ध्यान दिनुपर्ने चिकित्सकहरु बताउँछन् । चिसोले रुघाखोकी लाग्ने र निमोनिया हुने बढी सम्भावना हुन्छ । त्यसैले चिसोमा घरबाट बाहिन ननिस्कन र न्यानो कपडा लगाउनुपर्नेछ ।

निरन्तरको चिसो, कठ्याङ्ग्रिँदो हावा, शीतलहर, हुस्सु र बाक्लो कुहिरोका कारण वातावरण बिग्रेर मानिस, चौपाया पशु, पक्षी तथा बालीनालीसमेत प्रभावित भएको हो । चिसोकै कारण स्वास्थ्य केन्द्रलगायत जिल्ला अस्पतालमा बिरामीको संख्या बढ्ने अनुमान छ ।

चिसोबाट बच्न घरमा झ्याल, ढोका थुनेपछि अक्सिजनको कमी हुने भएकोले त्यसतर्फ पनि ध्यान दिनुपर्ने र आगो ताप्दा पनि सतर्कता अपनाउनुपर्ने विज्ञहरुको सुझाब छ ।

बुधबार, २९ पुष, २०७७, दिउँसोको १२:१० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर