गणेश लम्साल
५ पुसमा प्रधानमन्त्री केपी ओलीले गरेको प्रतिनिधिसभा विघटनको कदम असंबैधानिक भएकोले पुनःस्थापना गराउन सडकमा प्रतिपक्षी दल मात्र नभएर नेकपाका नेता कार्यकर्तादेखि आम नागरिक समाज आन्दोलनमा छ । प्रतिगमनको बाटोमा हिँड्न थालेको सरकारी नेकपा भने आमसभा र प्रशिक्षण कार्यक्रम गर्दै जनतामा भ्रम छरिरहेको छ । शनिबार विराटनगरको जनआन्दोलन चौकमा जनता समाजवादी पार्टीले हजारांैको सहभागितामा बृहत्त विरोध सभा ग¥यो । नेताहरु डा.बाबुराम भट्टराई र उपेन्द्र यादवले जोशका साथ प्रतिनिधिसभा पुनःस्थापना नभए संयुक्त जनविद्रोह थाल्ने चेतावनी दिए । प्रतिगमनकारी कदम चाल्ने केपी ओलीका दिन सकिएको घोषणा गर्दे संघीयता र गणतन्तत्रको रक्षाका लागि धर्मयुद्ध जस्तै न्याय युद्ध गर्न आफूहरु तयार रहको र तयार रहन आम नागरिकलाई अपिल गरे ।
शनिबार नै सरकार सर्मथक नेकपा ओली समूहका नेता तथा सरकारका मन्त्रीहरुले भने विराटनगरको होटलमा कार्यकर्ता भेला गरेर प्रशिक्षण दिँदै प्रधानमन्त्रीको कदमको बचाउ गर्ने प्रयास गरे । रोडशेष चौकस्थित होटल स्टर्नस्टारमा कट्टर गुटवादी र ढुलमुले अवसरवादीहरु भेला गराएर प्रतिगमनको रक्षाका लागि प्रशिक्षण चलाइयो । प्रशिक्षणमा बोल्ने नेता र सरकारका मन्त्रीहरुले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको कदम संबैधानिक भएकोले खुलेर प्रतिरक्षा गर्दै चुनावको माहौल बनाउन निर्देशन गरे । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले सञ्चार माध्यमले फैलाएको भ्रममा नपर्न कार्यकर्तालाई उर्दी गरे ।
ओम्नी काण्डमा मुछिएका मन्त्री भानुभक्त ढकालले प्रधानमन्त्री ओलीले अग्रगमनका लागि प्रतिनिधिसभा विघटन गराएको दाबी गरे । प्रतिनिधि सभाको बिघटन संबैधानिक भएकैले सर्वोच्च अदालतले सबैधानिक इजलासमा छलफल गरिरहेको उनको हाँस्यास्पद तर्क थियो । प्रचण्डसँग नजिक भएका रायमाझी, भट्ट, थापा र साहहरु आफनो समूहमा आइसकेकोले ओली समूह नै नेकपाको मुलधार भएको भन्दै उनले विचलित नहुन कार्यकर्ताहरुलाई आग्रह गरे । तीन जना पूर्वप्रधानमन्त्रीहरुलाई हराउन सफल भएपछि केपी ओलीको शक्तिशाली उदय भएको भन्दै उनले अोलीको यात्रा सफल हुने आश्वास्त कार्यकर्तालाई पार्न खोजे ।
विज्ञहरुबाट तयार गरिएको भनिएको कार्यपत्र ओलीको असंवैधानिक कदम बचाउ र ढाकछोप गर्ने सत्ताको चाकडीको उत्कृष्ट नमुना थियो । कार्यपत्रमा प्रधानमन्त्रीले मन्त्रिपरिषदको सिफारिसमा संबिधान अनुसार नै प्रतिनिधिसभा विघटन गराएकोले त्यो संबैधानिक भएको हचुवा दाबी गरिएको थियो । भेलामा जनतामा गएर सरकारको काम र विघटनको बाध्यताबारे बुझाएर पक्षमा माहौल बनाउन आग्रह गरियो ।
भेलामा आफ्नो असंवैधानिक र प्रतिगामी कदमको साथ नदिएको भन्दै सञ्चारगृह, नागरिक समाज र पूर्वप्रधानन्यायधीशलाई गालीगलौज गरियो । सरकार र अदालतलाई प्रत्यक्ष प्रभाव पार्ने काम भैरहेको तथा पार्टी अनुशासन ठाडो उल्लंघन प्रचण्ड–नेपाल समूहले गरेको दावी नेताहरुको थियो । गुटका कार्यकर्ताहरु मात्र सहभागी अन्तरक्रिया नाम दिइएको सो कार्यक्रम आफ्ना गुटका मान्छे अन्यत्र नलागुन् भनेर गरिएको प्रशिक्षण कार्यक्रम मात्र थियो ।
कठ्यांग्रिदो जाडोमा एकातिर प्रतिगमनविरुद्धको आन्दोलन चर्कदै गइरहेको छ । सर्वोच्चले न्यायमा अन्याय गरेमा न्यायका लागि सुरु भएको आन्दोलन जनआन्दोलनमा रुपान्तरित हुने पक्का छ । यस्तो बेलामा असंबैधानिक कदमलाई सबंबैधानिक हो भन्नु अनि हुनै नसक्ने चुनावको पक्षमा महौल बनाउनु तथा हाम्रो नेता र हाम्रो पार्टीले नै शान्ति र समृद्धिका लागि सही गरेको हो भनेर ओली ‘बा’ र उनका कार्यकर्ताहरु हिँडनु भनेको उल्टो बाटोको यात्रा गर्नु नै हो । हामी सबैले थाहा छ, उल्टो बाटो हिँडेर कहिल्यै लक्ष्य प्राप्त हुदैन । सास्ती मात्र पाईन्छ । देशै न्यायको अधिकारका लागि आन्दोलनमय भएको बेला उल्टो बाटो हिँडदै गलत कार्यलाई सही भन्दै हिँडने ओली ‘बा’ र उनका नेताहरुले सोचेजस्तो आम कार्यकर्ताहरुको मनोबल उच्च छदैछैन । जति प्रशिक्षित गरेपनि हुनेछैन । किनभने ढुलमुले र अवसरवादी जमात न्यायको संघर्षमा टिक्न सक्दै सक्दैन । केहीले दुस्साहस गरेर मण्डले चरित्र प्रदर्शन गरेपनि जनताबाट उनीहरुलाई जोगिन सजिलो हुनेछैन ।
सर्वत्र प्रष्ट भइसकेको छ । संबिधान अनुसार प्रतिनिधिसभाको विघटन असंबैधानिक नै हो । प्रतिनिधिसभा विघटन गर्ने प्रम ओली ‘बा’ को बाटो प्रतिगनकारी हो । यसैले सबैले भनिरहेका छन् – जसरी बयलगाढा चढेर अमेरिका पुग्न सकिदैन उसैगरि उल्टो बाटो हिँडेर देशमा दिगो शान्ति र समृद्धि ल्याउन सकिदैन ।’ यसैले ओली ‘बा’ले हिँड्न र हिँडाउन थालेको उल्टो बाटो हिँड्न कोही रुचाइरहेका छैनन् । प्रतिगमनको बाटोले न त अपुरो शासकीय प्रणलाीलाई जनमुखी र संघीय र समावेशी बनाउछ न त न्याय दिन्छ । अधिकारको चेतनाले प्रष्ट भइसकेका नेपालीहरु कसैले भनेकै भरमा उल्टो बाटो हिँडेर आफू र आफ्नो राष्ट्र अनि राष्ट्रियतालाई भड्खालोमा हाल्न चाहदैनन् ।
नेपाली जनताले कहिल्यै पनि प्रतिगमनलाई रुचाएनन् र रुचाउदैनन् । न्याय र समानताका लागि ओलीबाले आफ्ना कार्यकर्ताहरुलाई शाही निरंकुश शैलीमा भ्रमपूर्ण दिक्षा दिएर प्रतिरक्षा गर्न लगाउनु झन् न्यायको लडाईलाई बलियो बनाइदिनु मात्र हो । राणाहरुले आफ्नो विरुद्ध बोल्न खोज्नेहरुलाई दमन गर्थे । तर, न्याय खोज्ने जनताहरुले सुली चढेर राणाहरुलाई फाले । ओलीझैं जालझेल गरेर महेन्द्रले प्रजातन्त्रमाथि ‘कु’ गरेर २०१७ सालमा पञ्चायत लादेका थिए । त्यो व्यवस्था टिकाउन र प्रजातन्त्रवादीहरुको आन्दोलन कमजोर बनाउन मण्डलेहरुको प्रतिकार समिति बनाएका थिए । तर, जनताको न्यायपूर्ण संघर्षको अगाडि पञ्चायत टिक्न सकेन । शाहीकालमा ज्ञानेन्द्रले प्रतिकार समिति र भजन मण्डली बनाएकै हुन् । झुटो आरोपमा गणतन्त्र र लोकतन्त्र माग गर्नेलाई पक्राउ गरेर मुद्दा चलाएकै हुन् । समर्थक झुन्डहरु भेला गरेर देश दौडाहा गरेकै हुन् । तर, नागरिकहरु भ्रममा परेनन् र शाही शासन ढालेरै छाडे । यसैले ओली ‘बा’ र उनका पिछलग्गुलाई चेतना भया ! शान्ति र समृद्धिका सुल्टो नै हिँडनुपर्छ ।