विराटनगर । गैरकानूनी मानिएको मिटर ब्याजको अवैध धन्दा प्रदेश १ को राजधानी विराटनगरमा मौलाउँदै गएको छ । छोटो समयमा धेरै कमाउने लोभले मिटर ब्याजमा लगानी गर्ने धन्दा मौलाउँदा सामाजिक र आर्थिक अपराधको जोखिम बढेको छ ।
मिटर ब्याजमा भएको लगानीका कारण विराटनगरसहित मोरङमा केहीको घर र जग्गा नै सखाप भएको छ । मासिक चर्को ब्याज रकम रहेको यो प्रथाबाट लगानी उठ्न नसकेपछि कतिपय घर छोडेर सम्पर्कविहीन भएका छन् । एकैजनाले एक करोड रुपैयाँदेखि चार करोडसम्म डुबाएर भागेको पीडितले बताएका छन् ।
गैरकानूनी मानिएको मिटर ब्याजमा लगानी गर्ने विराटनगर–९ घोघापुल चौकमा ४५ वर्षीय मन्टु नामले परिचत सन्जय रौनियार पक्राउ परेका छन् । पीडितहरूले दिएको उजुरीको आधारमा रौनियारलाई मोरङ प्रहरीले सोमबार साँझ विराटनगरबाट अनुसन्धानको लागि नियन्त्रणमा लिएको हो ।
‘उजुरीको आधारमा हामीले नियन्त्रणमा लिएका हौं,’ मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले भन्नुभयो, ‘अहिले अनुसन्धान भइरहेको छ । थप विषय दशी र अनुसन्धानपछि खुल्नेछ ।’ रौनियारको घरबाट प्रहरीले मिटरब्याजमा लगानी गरेको कागजपत्र पनि बरामद गरेको छ ।
रौनियारले मिटर ब्याजमा लगानी गर्न थालेको एक दशक भएको बुझिएको छ । चर्को ब्याज लिएर मन्टुले मोरङको ग्रामिण क्षेत्रका बासिन्दाहरूसँग लगानी गर्ने गरेको खुलेको छ । ऋण लगेको रकमको मासिक ५ प्रतिशत ब्याज जोडेर लगानी गर्ने गरेको पीडितहरूले बताएका छन् । मन्टुबाट मिटर ब्याजमा लिएको ऋण तिरेको र चर्को ब्याज तिर्न नसक्दा उठिबास हुन लागेको मोरङ धनपालथान गाउँपालिका १ का मन्जर हुसेनले बताउनुभयो ।
‘मेरा बाबुआमाले ११ कठ्ठा जमिन धितोमा राखेर चर्को ब्याजमा मन्टुसँग ६ लाख रूपैयाँ लिनुभएको थियो,’ छोरा मन्जरले भन्नुभयो, ‘अहिलेसम्म साँवा र ब्याज गरि ३६ लाख रूपैयाँ बुझिाइसक्नुभयो । अझै ३६ लाख ब्याज तिरेपछि मात्र धितोमा राखेको जग्गा फिर्ता गर्ने अडान कायम गरेका छन् ।’ उठिबास लाग्ने अवस्था भएपछि बाध्यभएर प्रहरीमा उजुरी गर्नुपरेको उहाँको भनाइ छ । हुसेन जस्तै ऋण लिएर पीडित भएका यहाँका एक दर्जन भन्दा बढीले प्रहरीमा उजुरी दिएपछि मन्टुलाई पक्राउ गरिएको हो ।
प्रहरीको नियन्त्रणमा रहेका रौनियारले मिटरब्याजमा लगानी गरेको ऋणको चर्को ब्याज ऋणीले तोकिएको मितिमा तिर्न सकेन भने ऋण लिएको रकमको थप ५ प्रतिशत बढाउने गरेका थिए । ‘मन्टुबाट एक लाख रूपैयाँ ऋण लिएको छ भने मासिक पाँच प्रतिशतको ब्याज ५ हजार रूपैयाँ तिर्नुपर्छ । महिना सकिएर एक दिन भाका कट्यो भने ब्याजको दोब्बर हिसाब गर्ने गरेकोले तिर्न नसकेको अमित यादवले बताउनुभयो ।
अमितका बावुले २०७० जेठ २१ गते मोरङको सुनवर्षी नगरपालिकाको १ विघा १ कठ्ठा जग्गा रौनियारसँग धितोमा राखेर ५ लाख रुपैयाँ लिएका थिए । गत चैतसम्म ५ लाख रुपैयाँको ब्याज मात्र १० लाख रुपैयाँ तिरिसक्दा पनि जग्गा फिर्ता नगरेपछि मोरङ जिल्ला अदालतमा ‘लेनदेन’ को मुद्दा पीडितले दर्ता गरेका छन् ।
कारोबारमा ठगिएका र ठगी गर्ने दुवै पक्ष जनप्रतिनिधि र प्रहरीमा धाउने क्रम बढेको छ । दैनिक १÷२ जना मानिस आर्थिक कारोबारसँग सम्बन्धित गुनासो लिएर मोरङ प्रहीमा आउने गरेका छन् । मासिक ५ प्रतिशत ब्याजदरमा सापटीका रूपमा ऋण लिँदा मिटर ब्याजमा कारोबार गर्नेले अग्रिम सावाबाट २० प्रतिशत रकम कटौती गरिदिने गरेका छन् ।
बैंक, वित्तीय संस्था र सहकारी संस्थाले भन्दा बढी ब्याज दिने तथा पाउने प्रलोभनमा विशेष गरेर पैसा भएका तर आर्थिक कारोबारसम्बन्धी ज्ञान नभएका मानिस पर्ने गरेका छन् । सामान्य मजदुरदेखि बजारका सम्पन्न व्यक्ति यस्तो कारोबारमा संलग्न छन् ।
विदेशबाट आएका, बैंकमा घरजग्गा धितो राखेर मिटर ब्याजमा लगाउने भेटिएका अनुसन्धानमा संलग्न एक प्रहरीका अधिकारीले बताउनुभयो । यस्तो अवैध कारोबारको नेतृत्व गर्ने र ठगिनेमा पुरुष र महिला दुबै छन् । वैदेशिक रोजगारीमा जाने, जुवातास खेल्ने, व्यापारी र घरजग्गा कारोबारीले मिटर ब्याजको ऋण लिने गरेको पाइएको छ ।
मासिक रूपमा ब्याज र भनेको समयमा ऋण तिर्न नसकेपछि विवाद बढेर ठगीको मुद्दाका रूपमा प्रहरी तथा अदालत पुग्ने गरेको छ ।
Karwahi vayepo ini haru daraux