लोड हुँदैछ...

मेनु

कोराना संक्रमित जनस्वास्थ्यकर्मीको डायरी

सोचे झै कोरोना रै’नछ

सोचे झै कोरोना रै’नछ

कोभिड १९ को महामारीले विश्व नै आतकिंत भएको अहिलेको अवस्थामा आमजनता सँगसँगै स्वास्थका दक्ष जनशक्तिहरू पनि पीडित छन् । सावधानीका उपायहरू अपनाउँदै मानिसहरू आ–आफ्नो काममा फर्केका छन् । कोभिडको संक्रमण पनि अब निश्चित बर्ग वा क्षेत्रमा सिमित नभएर समुदायमा फैलिएको छ । त्यसैले यसको संक्रमण कहाँ, कसलाई र कहिले हुन्छ ठम्याउन सकिने अवस्था पक्कै छैन ।

म आफै जनस्वास्थ्यकर्मी । यस महामारीमा कोभिड सम्बन्धि लेख, रचना, जानकारी, सोधहरू पढ्दै आएको छु र आफूले सिकेको, बुझेको तथ्यहरू लेख्ने प्रयासहरू पनि गर्दै आएको छु । आफू सचेत भएर सावधानीका उपायहरू अपनाउँदा अपनाउँदै पनि म स्वयम् कोभिड १९ को संक्रमित भए । मेरो स्वास्थ्य अवस्था गम्भिर नभएकाले होम आईसोलेसनमा छु । स्वास्थ्यका बारेमा बुझेर पनि अबुझ भए जस्तो यस अवस्थामा मनमा डरका तरङ्गहरू आउँदो रहेछ । यिनै मनका भावनाहरू शब्दमा कैद गर्ने कोशिश गरेको छु ।

म कोशी हेल्थ ईन्स्टिच्युटको निमित्त क्याम्पस प्रमुख । कोभिढ महामारी र लकडाउनले लामो समयदेखि शैक्षिक कार्यक्रम बन्द नै रह्यो तर पछिल्लो समयमा परीक्षाको कार्यक्रम र नयाँ भर्नाले क्याम्पसको कार्यालय नियमित खोल्नुपर्ने, विद्यार्थीहरूसँग परामर्श अनि परीक्षाको तयारी गराउनु पर्ने जिम्मेवारी पुरा गर्नुपर्ने भयो । त्यसैले म नियमित क्याम्पस पुग्ने गरेको थिए । आफु पनि मास्क लगाउने र आगन्तुकहरूलाई पनि मास्क अनिवार्य गरेको थिए । एक पटकमा एक जना भन्दा बढिलाई मेरो कार्यकक्षमा प्रवेश गराउँदैन थिए अनि हरेक पटक कागजातहरू छोए पछि सेनिटाईज प्रयोग गर्ने गरेको थिए । कामसकेर घर जाँदा पनि साबुन पानीले हाथ धोएर मात्र प्रवेश गर्ने गरेको थिए । यसरी दिनहरू बितिरहेका थिए ।

मंसिर १० गते दिउँसो तिर अलिक बिसन्चो जस्तो भयो । धेरै थकान र भित्रैबाट ज्वरो आएको महसुस भयो । ३ बजे पछि त कार्यालय बस्न नसक्ने भए । क्याम्पस नजिकै रहेको मेरो कोठामा फर्के अनि केहि बेर पल्टे । मलाई केहि आराम भए जस्तो लाग्यो । लगातारको काम र दौडधुपको थकानले होला जस्तो लाग्यो । आफै स्वास्थ्यकर्मी पनि रहेकोले समान्य एनाल्जेसिक सेवन गरे । भोलिदेखि आराम होला भन्ने आशा थियो ।

तर सोचे जस्तो भएन । औषधिको असर सकिने बित्तिकै ज्वरो बढ्न थाल्यो । आफ्नै शरिर आफैलाई भारी भएको महसुस भयो । छाती चिसो भएर आयो, अनि दिमाग शून्य भयो । केही सोच्न सकिरहेको थिइँन । ज्वरो नापे १ सय २ डिग्री फरेनहाइट देखायो । सूर्यले किरणले कोठा उज्यालो बनाई सके पनि आफूलाई ओछ्यान छोड्ने हिम्मत आएन, त्यसै पल्टि रहें । ‘सञ्चो भएन कि कसो ?’ श्रीमतीले आवाज लगाईन्, झसङ्ग हँुदै उठ्न खोजें तर सकिन । सय केजीको भारीले आफैंलाई थिचेको जस्तो अनि आफ्नै तौल नि आफूले उठाउन नसकिने जस्तो भएको मैले महसुस गरेको थिए । सँधै बिहान सबेर उठ्नु पर्छ, दाँत माझ्ने, हाथमुख धुन लगाउने बाबा नउठेको देख्दा छोरी नि अल्लमल्ल पर्दै भनि, ‘उठेर ब्रस गर्नुहोस्, फ्रेस हुनुहोस्, ज्वरो भागि हाल्छ नि’ । छोरीलाई टार्न सकिएन, उठँे, हाथमुख धोएँ तर फ्रेस हुन सकिएन । उभिन नि गा¥हो भयो, अनि फेरि ओछ्यानमै थचारिए ।

हल्का सुख्खा खोकी सुरु हुनु, खानाको स्वाद र बासना हराउनुले मनमा कोभिडको डर पस्यो । मेरो अनुहारमा डर देखेर होला श्रीमती पनि डराइन् । तर पनि मलाई नआत्तिन, हिम्मत नहार्न सान्त्वना दिँदै कोभिडमा काम गर्दै गरेका चिकित्सकहरूसँग परामर्श लिन आग्रह गरिन् । उनको आग्रहमा केहि डर केहि चिन्ता पाए मैले ।

चिकित्सकसँग फोनमा सल्लाह गरे, कोभिडको शंका गर्न भयो । तुरुन्त पिसिआर गराउन सल्लाह पाए । आफुलाई क्वारेन्टाईनमा राख्न कोठा अलग गरें । तर एकदम जाडो भएर कामज्वरो आएको कारण सोहि दिन पिसिआर गर्न जान सकिएन । कोभिड संक्रमणका बारेमा नबुझेको पक्कै थिइँन तर पनि आफैलाई प्रश्न गरे, के यो कोरोना नै हो ? म पूर्णरुपमा सचेत थिएँ, सावधानी अपनाएको थिएँ । अनि फेरि कसरी संक्रमित भए होला ? मनभित्र कुराहरू खेल्दै गयो । आफूले पुरा गर्न बाँकी रहेका जिम्मेवारीहरू धेरै देख्न थाले, मबाट आश्रित मेरोे परिवार, नावालक छोरी, मेरो क्लासहरू, लायन्सको यात्रा….के के हो के के..। साँच्चैकै कोरोना नै हो ? र म जीवनको अन्त्यमा छु जस्तो सोच्दै गर्दा, आँखा रसायो, शरिर जाडोले काम्न थाल्यो । दुईटा सिरक ओढें, हिटर बालें तर पनि शरिर पूर्णरुपले तताउन सकिएन ।

मेरा बुबा, श्रीमती, कलेज परिवार तथा स्वास्थ्यकर्मीहरूसँगको परामर्श, सान्त्वना अनि लक्षण अनुसारका औषधिहरूले अलिक सहज भएता पनि पिसिआर गराए । मंसिर १५ गते रिपोर्ट आयो, शंका गरे जस्तै रिर्पोटमा कोभिड पोजेटिभ देखियो । तर रिपोर्ट आउँदा म भित्रको डर भागिसकेको थियो । क्याम्पस परिवार, लायन्स साथिहरू, ईस्टमित्र, शुभचिन्तकहरूले दिएको माया, आत्मबल, प्रेरणा साच्चैको प्रभावकारी रह्यो ।

१५ दिन होम आईसोलेसनपछि पिसिआर नेगेटिभ आयो । आफूले कोरोनालाई जित्दा संसार नै जितेको भान हँुदोरहेछ । यो संक्रमणसँग आफूले लड्दै गर्दा कसैले पनि यो लडाई लड्न नपरोस् जस्तो लाग्छ । जसलाई कोरोनाको संक्रमण भएको छैन उसले यो केही होइन भन्ने गरेको सुन्छु । यसले केही वर्ग वा व्यापारिको लागि फाइदा गरेको छ भन्ने सोचाई र अभिव्यक्तिहरू पनि सुनिन्छ । तर जसले यो पिडा भोगेको छ, उनले यसको शारिरिक तथा मानसिक पीडालाई बुझेको हुन्छ । कोरोना सक्रमणलाई हेलचेक्र्याँइ गर्ने पटकै होइन । बरु, जनस्वास्थ्यका मापदण्डहरू कडाका साथ दैनिक व्यबहारमा अपनाउनु पर्छ । हामीले सचेत हुनै पर्छ, सावधानी अपनाउनु पर्छ ।

(चौधरी कोशी हेल्थ ईन्सिटच्युट विराटनगरका निमित्त क्याम्पस प्रमुख हुन् ।)

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।