सम्पादकीय
केही दिन अगाडि सरकार विरुद्ध विद्रोह गर्दै आएको दावी गर्ने नेत्रविक्रम चन्द ‘विप्लव’को भिडियो अन्तरवार्ता सार्वजनिक भएको थियो । अन्तरवार्तामा आफ्नो पार्टीलाई भूमिगत भनेको उनले गृहमन्त्री रामबहादुर थापाप्रति आक्रोश व्यक्त गरिएको थियो ।
आफ्नो पार्टी लोकप्रिय र जनप्रिय रहेको भन्दै विप्लबले भूमिगत गृहमन्त्रीको शब्दले आतङ्कित पार्ने काम भएको दाबी गरेका थिए । उनको अन्तरवार्ता हेर्दा छिटफूट रुपमा हिंसात्मक गतिबिधि गरिरहेको उनी नेतृत्वको समूह राजनीतिक मुलप्रबाहमा आउन चाहेको धेरैले अनुमान गरेका थिए । भूमिगत नरहेको र प्रतिष्पर्धामा आउने उनको अभिव्यक्तिले सो समूहका राजनीतिक मागहरुको सम्बोधन हुनुपर्ने आवाज पनि उठ्ने वातावरण बन्दै गएको थियो । हुनपनि विप्लब समूहले सशस्त्र युद्धको घोषणा गरेको छैन । अहिलेसम्म व्यक्ति हत्याको बाटो पनि लिएको हैन । तर, विप्लबको अन्तरवार्ता आएको दुई साता नवित्दै मोरङको मिक्लाजुङमा सोही समूले विभत्स रुपमा एक शिक्षकको हत्या गरेको छ ।
मिक्लाजुङ १ बर्खेस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको मंगलबार हत्या भएपछि प्रहरीले विप्लब समूहले हत्या गरेको सूचना दिएको थियो । आम नागरिकले भने त्यसलाई पत्याइसकेका थिएनन् । किनकी सो समूहले यसअघि व्यक्ति हत्यामा उत्रिएको थिएन र उसको घोषित नीति पनि त्यो थिएन । प्रहरीले अपराधी खोज्न नसक्ने भएकोले विप्लब समूहलाई आरोप लगाएको हुनसक्ने कतिपयको अनुमान थियो । तर, साँझ औपचारिक रुपमा विज्ञप्ति निकालेर सो समूहले हत्याको जिम्मा लियो । सो समूहले दुबै हात पछाडि बाँधेर घाँटी रेटी हत्या गरिएका श्रेष्ठको हत्याको जिम्मा मात्र लिएन आक्रमण गरेपछि प्रतिकारमा मारिएको हाँस्यास्पद र झुटो दावी पनि गरेको छ । दुबै हात पछाडि बाँधिएका निशस्त्र श्रेष्ठले प्रतिकार गरे भन्ने दावी आफैंमा अपत्यारिलो मात्र छैन, सो समूहको अपराधिक हर्कत ढाकछोप गर्ने असफल प्रयास सिद्ध भएको छ ।
व्यक्ति हत्याको चरणमा पुगेर त्यसको जिम्मेवारी लिएपछि विप्लब समूह भूमिगत स्थितिमा गएर हिंसात्मक बाटो रोजेको निश्कर्षमा पुग्न सकिने अवस्था बनेको छ । यो प्रकरणले सरकारले प्रतिबन्ध लगाएको समयमा राजनीतिक मुद्दाहरुको सम्बोधन राजनीतिक रुपमा खोज्नुपर्छ भन्नेहरुहरुई गलत सावित गरेको छ । राज्यले गरेका एकाध दमनका घटनाहरुको आलोचना गर्नेहरुको आवाज कमजोर बनाएको छ । यो प्रकरणबाट विप्लब समूहले आफैं आफ्नो विरुद्ध कठोर बन्न सरकारलाई निम्तो गरेको छ । यो घटनाले सुरक्षा उपस्थिति शुन्य भएको क्षेत्रमा बढिरहेको विप्लब समूहको गतिबिधि रोक्न प्रहरीको सक्रियताको खाँचो औल्याएको छ । विप्लब समूहले दावी गरेजस्तै उसका कार्यकर्ता सुराकी गरेर श्रेष्ठले पक्राउ गराएका नै थिए भने पनि हत्या गर्नुपर्ने त्यो अपराध थिएन । तर, पछिल्लो धाकधम्की दिएर चन्दा असुलीलाई प्राथमिकतामा राखेको सो समूहले चन्दा नदिएकै कारण श्रेष्ठको हत्या गरेको स्थानीयले बताएका छन् । त्यसैले पनि श्रेष्ठको हत्या भत्र्सनायोग्य अपराधिक हर्कत हो ।