नेपालकै पहिलो रिफ्रेसमेन्ट सेन्टर सुनसरीमा शिलान्यास

सुनसरी, २४ मंसिर । सुनसरीको कोशी कटान क्षेत्रमा २ अर्ब बढी लागतमा प्रदेश सरकारले निर्माण गर्न लागेको रिफ्रेसमेन्ट सेन्टरको बुधबार मुख्यमन्त्री शेरधन राईले शिलान्यास गर्नुभएको छ । नेपालकै पहिलो र आधुनिक रिफ्रेसमेन्ट सेन्टर यातायात क्षेत्रको सुरक्षाको अवधारणामा आधारित महत्वकांक्षी परियोजना हो ।

शिलान्यास पछि बोल्दै मुख्यमन्त्री शेरधन राईले कोशीको बगरलाई सदुपयोग गरी निर्माण हुने यो रिफ्रेसमेन्ट सेन्टर मुलुककै र गौरवपूर्ण परियोजना हुने बताउनुभयो । उहाँले कटान क्षेत्रमा बन्ने पूर्वाधारयुक्त आधुनिक संरचनाले प्रदेश १ को पर्यटन प्रर्वद्धनमा समेत ठूलो योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

कटान क्षेत्रमा आधुनिक बसपार्कसहित होटल, स्वीमिङ पुल, फ्यूल सेन्टर, स्वास्थ्य चौकी, ट्राफिक र प्रहरीको बन्दोवस्ती लगायतका संरचनाहरु निर्माण हुने छन् ।

प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदीशप्रसाद कुसियैतले वर्तमान सरकारले यस क्षेत्रको विकासमा ठूलो योगदान गरेको बताउनुभयो । उहाँले प्रधानमन्त्री, उपप्रधानमन्त्री जस्ता ठूला नेता जन्माएको प्रदेशले पहिले केही नपाएपनि अहिलेको सरकारले न्याय गरेको उहाँको भनाई थियो । उहाँले आफु मन्त्री भएपछि मात्र पश्चिम सुनसरीले विकास देख्न पाएको दावी पनि गर्नुभयो ।

प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको ड्रिम परियोजनाको रुपमा रहेको रिफ्रेसमेन्ट सेन्टर लामो दूरीमा यात्रा गर्ने सवारीका साधनलाई रोकेर चालकलाई रिफ्रेस गराउदै सुरक्षित यात्रा तय गराउने कामका लागि प्रयोग गर्ने सरकारको योजना छ ।

परियोजना अन्र्तगत पहिलो चरणमा २७ करोड ५ लाख १९ हजार ९ सय ४ रुपैया बराबरको काम सम्पन्न गर्ने र त्यसको ठेक्का लागिसकेको कार्यक्रममा जानकारी दिइएको छ । यस कामको संरचना निर्माण गर्ने कविन्द्र नव सिर्जनशील जेभी सिनामंगल काठमाडौंले पाएको छ ।

२०६५ साल भदौ २ गत कोशी बाँध फुटेपछि खेतीयोग्य जमिन कटान भएर बालुवाखानीमा परिणत भएको क्षेत्रलाई खरिद गरेर सरकारले रिफ्रेसमेन्ट सेन्टर बनाउन लागेको हो ।

बुधबार, २४ मंसिर, २०७७, साँझको ०७:५७ बजे

प्रतिक्रिया

प्रतिक्रिया:

सम्बन्धित खवर