कृषिमा बढ्दै यान्त्रिकरण

विराटनगर । कृषि उत्पादनमा यान्त्रिकरण बढ्दै गएको छ । परम्परागत कृषि प्रणालीमा आधारित रहेका किसानहरुमा कृषि यान्त्रिकरण तर्फ आकर्षित हुन् थालेका छन् ।

कम लागतमा उत्पादन बढाउन किसानहरुले आधुनिक कृषि यन्त्र र प्रविधिको प्रयोग बढाएका छन् । आधुनिक कृषिकर्म तर्फ बढदो आकर्षणले परम्परागत रुपमा हलो जोतेर खेती गर्ने किसानहरुमा नयाँ जागरण समेत पैदा भएको छ ।

संघीय र स्थानीय सरकारले पनि आफ्ना बजेटमार्फत किसानलाई सिँचाइका लागि बोरिङ पम्पसेट, खेत जोत्ने, मकै छर्ने, धान रोप्ने र धान काटनेजस्ता मेसिनमा अनुुदान दिएपछि पछिल्लो समय कृषि यान्त्रिकरणको प्रयोग बढेको हो । खेत जोताई, रोपाई र बाली कटाईसम्म कृषि यन्त्र उपकरणको प्रयोगले किसानको जनजीवन सहज हुनुका साथै समयको सदुपयोग तथा व्यवस्थापनमा पनि सहयोग पुगेको बताईएको छ ।

मङ्सिरलाई मुरी भित्रयाउने महिनाको रुपमा लिईन्छ । यतिबेला किसानलाई धान काटेर भित्रयाउने चटारो छ । धान काट्न र भित्रयाउनका लागि यसपटक अधिकांश किसानहरुले कम्बाइन मेसिनको प्रयोग गरिरहेका छन् ।

छोटो समयमै धान थन्क्याउन सकिने र जनशक्ति पनि कम लाग्ने भएकोले किसानहरु मेसिनको प्रयोग बढाएका सुनसरीको गढी गाउँपालिका वडा नं. ४ का कृषक जयनारायण उराँवले बताउनुभयो । अन्य वर्षहरुमा एक बिघा क्षेत्रफलमा लगाइएको धान काट्न झण्डै १० दिन लाग्ने गर्दथ्यो, उहाँले भन्नुभयो ‘तर कम्बाइनबाट एक घण्टामै एक बिघा क्षेत्रफलमा लगाईएको धान काटेर दाउनी गर्न सकिन्छ ।’

सुनसरीका अधिकांश किसानले यसपटक बिरगञ्जबाट कम्बाइन मेसिन मगाएर धान कटाईरहेका छन् । मेसिनबाट धान काट्न प्रतिघण्टा ५ हजार रुपैयाँ तिर्नुपर्छ ।

तर समय र खर्च कम लाग्छ, अर्का किसान रामदेव उरावँले भन्नुभयो, “पहिले मजदुुर नपाउँदा पाकेको धान खेतमै झर्ने अवस्था थियो । तर यसपटक मेसिनको प्रयोगले धान पनि समयमा काटिने र समयमै बिक्री गर्न पाइन्छ ।”

प्रदेश नं. १ मा यसबर्ष भने ३ लाख ३२ हजार ९ सय १७ हेक्टर क्षेत्रफलमा धान रोपाई भएको थियो । जसमध्ये यसबर्ष झापामा ८५ हजार ७ सय ५० हेक्टरमा धान रोपाई भएको छ । त्यसपछि मोरङमा ८० हजार ८ सय १ र सुनसरीमा ५३ हजार ९ सय हेक्टरमा धान लगाइएको प्रदेश नं. १ भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता डा. राजेन्द्र उप्रेतीले जानकारी दिनुभयो ।

सरकारले पनि कृषि यान्त्रिकरणमा बिशेष अनुदानको व्यवस्था गरेपछि कोरोना महामारीका बाबजुद आर्थिक वर्ष २०७६/०७७ को तुलनामा यसवर्ष १२ हजार ७८२.६८ हेक्टर बढी क्षेत्रफलमा धान बाली लगाइएको डा. उप्रेतीले जानकारी दिनुभयो ।

कृषि यान्त्रिकरणमा सरकारको बिशेष जोड र किसानहरुको पनि बढ्दो आकर्षणले यसवर्ष हालसम्म उच्च पहाडका जिल्लाहरुमा २.५, मध्य पहाडका जिल्लाहरुमा २.८ र तराईका जिल्लाहरुमा ४.५ मेट्रिक टन प्रति हेक्टरका दरले धान उत्पादन भएको सरकारी तथ्याङ्कले देखाएको छ ।

बिहिबार, ११ मंसिर, २०७७, बिहानको ०९:०८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर