सम्बृद्धिको आधार जडिबुटी : मन्त्री घिमिरे

विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले जडिबुडी सम्बृद्धिको आधार भएको बताउनुभएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा विराटनगरमा बुधबार सम्पन्न प्रदेशस्तरीय बार्षिक स्वास्थ्य समीक्षा तथा योजना तर्जुमा गोष्ठिमा मन्त्री घिमिरेले सो कुरा बताउनुभएको हो ।

आयुर्वेदको क्षेत्रमा प्रदेश १ अघि बढ्नसक्ने धेरै आधारहरु रहेको भन्दै मन्त्री घिमिरेले आयुर्वेदलाई तीनै तहको सरकारले प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो । भारतमा उत्पादन हुने आयुर्वेद औषधिको तुलनामा ४० प्रतिशत नेपालमा रहेको भन्दै उहाँले कच्चा पदार्थ भारत र चीन गएर औषधि बनेर नेपाल आउने गरेको उल्लेख गर्नुभयो ।

तीन प्रकृतिको वातावरणीय सन्तुलनका कारण नेपालमा जडिबुटीको भण्डार रहेको मन्त्री घिमिरेको भनाई छ । हिमाल, पहाड र तराईको जडिबुटी उत्पादन र प्रशोधन प्राथमिकतामा पर्नुपर्ने उहाँले बताउनुभयो ।

आयुर्वेद पद्धती पुस्तासँगै लोप हुँदै गएकाले यसको संरक्षण आवश्यक रहेको मन्त्री घिमिरेले बताउनुभयो । उहाँले प्रत्येक प्रदेशमा १/१ वटा वैद्यखाना आवश्यक रहेको उल्लेख गर्दै निजी क्षेत्रले पनि वैद्यखानातर्फ ध्यान दिनुपर्ने बताउनुभयो । जडिवुडी उत्पादन, प्रशोधन, थेरापी, योग प्रशिक्षकको माध्यमबाट जेष्ठ नागरिक, युवा युवती, पर्यटक आदिलाई सेवा प्रवाह गरी मुलुकमा समृद्धी कायम गर्नुपर्नेमा उहाँको जोड छ ।

सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले आयुर्वेद कार्यालयहरुले गुणस्तरीय सेवा प्रदान गरी जनतामा यसको महत्वका सम्वन्धमा सूचना प्रवाह गर्न आग्रह गर्नुभयो ।

बुधबार, २६ कार्तिक, २०७७, साँझको ०७:२६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर