विराटनगर । कोरोना महामारीका कारण यसवर्ष आउँदै गरेका दिपावली र छठपर्वको रौनक गुमेको छ ।
कोरोना महामारीका कारण आम नागरिकको क्रयशक्ति समेत कमजोर भएपछि चाडपर्व लक्षित किनमेलमा समेत कमी आएको छ । विराटनगरको बजारमा चाडपर्व लक्षित वस्तुहरुको व्यापार ह्वात्तै घटेको छ । बिशेषगरि दिपावली र छठ पर्वमा प्रयोग हुने माटोको दियो तथा कलश, बाँसको नाङ्लो, दाउरी तथा डाला र झिलीमिली बत्तीलगायतका वस्तुहरुको व्यापार घटेको हो ।
यो वर्षको व्यापार आशलाग्दो नरहेको विराटनगरका व्यापारीहरुले बताएका छन् । स्वच्छता र प्रकाशको पर्व दीपावली यही कार्त्तिक २८ गते र सुर्य उपासनाको महानपर्व छठ मङ्सिर ३ गतेदेखि सुरु हुँदैछ । तर, यो बर्ष बजारमा अन्य बर्षहरु झैं रौनकता, उत्साह र उमङ्गका साथ व्यापार नभईरहेको व्यापारीहरुको भनाई छ ।
विराटनगर–६ निवासी अशोक शाह विगत १५ वर्षदेखि माटोको भाँडा तथा बाँसबाट बनेको नाङ्लो, दाउरी र डालाको व्यापार गर्दै आउनुभएको छ । यो वर्ष कोरोना महामारीका कारण प्रत्यक्ष रुपमा व्ययापार प्रभावित भएको उहाँको भनाइ छ । अन्य वर्षको तुलनामा ८० प्रतिशतले व्यापार घटेको उहाँ बताउनुहुन्छ ।
विगतमा चाडपर्व नजिकिएसँगै बजारमा किनमेल गर्नेको भीड थामिनसक्नु हुन्थ्यो । बाहिर–बाहिरका ग्राहकहरु पनि किनमेल गर्न बजार आउने गर्दथे । दैनिक न्युनतम २० देखि २५ हजारसम्मको व्यापार हुने गरेकोमा यो वर्ष थोरै रहेको उहाँको भनाइ छ ।
विराटनगर–१५ निवासी भारती सिंहको परिस्थिति पनि उस्तै छ । ग्राहकहरुलाई त औलामै गन्न सकिने उहाँ बताउनुहुन्छ । कोरोना महामारीकै कारण यो वर्ष माटोको भाँडा र बाँसबाट बनेको सामानहरुको आयात प्रभावित हुँदा स्वदेशी उत्पादनले बजार पाए पनि ग्राहक भने कमै छन् । विगतमा भारतबाट आएका सामानले बजार कब्जा गर्ने गरेकोमा यो बर्ष सुनसरीको देवानगञ्ज र ईनरुवाबाट ती उत्पादनहरु आयात गरिएको छ ।
महामारीबीच बजारको अवस्था र वर्तमान परिस्थितिलाई मनन् गर्दै आफ्ना उत्पादनहरुको मूल्य घटाउँदा पनि बिक्रि नबढेको व्यापारीहरु बताउँछन् । हाल बजारमा भने माटोको सानो दियो १ देखि २ रुपैयाँ प्रतिगोटा, ठूलो दियो ३ देखि ५ रुपैयाँ प्रतिगोटा र कलश साईज अनुसार ३० देखि ५० रुपैयाँ प्रतिगोटामा बिक्री भईरहेको छ ।
यस्तै बाँसबाट बनेको ढाकी साईज अनुसार २ सयदेखि ३ सय रुँपैया प्रतिगोटा, नाङ्लो १ सय २० रुपैयाँ प्रतिगोटा र दाउरी १ सय ८० रुपैयाँ प्रतिगोटाका दरले बिक्री भईरहेको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।