कोरोना संक्रमितको संख्या ५ करोड नाघ्यो

विराटनगर । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५ करोड नाघेको छ । रोयटर्सका अनुसार पछिल्लो ३० दिनमा मात्रै कोरोना भाइरसको दोस्रो लहरबीच एक चौथाई संक्रमित बढेका छन् ।

पछिल्ला केही दिनमा अमेरिकामा दिनहुँ एक लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्ला दिनमा युरोपेली मुलुकमा पनि संक्रमण दर बढेको छ ।

पछिल्ला ७ दिनमा विश्वभर दैनिक रुपमा ५ लाख ४० हजारभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भइरहेको छ । संक्रमितको संख्या ३ करोडबाट ४ करोड पुग्न ३२ दिन लागेकोमा पछिल्लो समय २१ दिनमै थप एक करोडमा कोरोना पुष्टि भएको छ ।

जोन्स होप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५ करोड ३ लाख ९५ हजार १ सय ७४ पुगेको छ । त्यस्तै कोरोनाबाट विश्वभर मृत्यु हुनेको संख्या १२ लाख ५५ हजार ४ सय ९० पुगेको छ भने करिब ३ करोड ३० लाख संक्रमणमुक्त भएका छन् ।

विश्वकै करिब २० प्रतिशत संक्रमित अमेरिकामा रहेका छन् । अमेरिकामा कोरोना संक्रमितको संख्या करिब एक करोड पुगेको छ । आइतबार बिहानसम्म अमेरिकामा कोरोना संक्रमितको संख्या ९९ लाख ६२ हजारभन्दा बढी पुगेको छ ।

अमेरिकामा कोरोनाबाट २ लाख ३७ हजारभन्दा बढीको मृत्यु भएको छ भने संक्रमण पुष्टि भएकामध्ये करिब ३९ लाख निको भएका छन् । अमेरिकामा पछिल्ला ७ दिनमा औसत एक लाखका दरले संक्रमितको संख्या बढिरहेको छ ।

अमेरिकामा चुनाबी अभियानको क्रममा संक्रमण झनै फैलिएको छ । ट्रम्पको ऱ्यालीमा सहभागीमध्ये ३० हजारमा कोरोना संक्रमण भएको र ७ सयभन्दा बढीको मृत्यु भएको उल्लेख गरिएको छ ।

युरोपमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या करिब एक करोड २० लाख रहेको छ । मृत्यु हुनेमध्ये २४ प्रतिशत युरोपमा मात्रै भएको छ ।

यस्तै भारतमा कोरोना संक्रमितको संख्या ८५ लाख नाघेको छ भने १ लाख २६ हजारभन्दा बढीको मृत्यु भएको छ ।

सोमबार, २४ कार्तिक, २०७७, दिउँसोको ०१:१३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर